नेपालमा बसेर सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गरिरहेका एक जना दक्ष आईटी प्रोफेसनलहरुले वार्षिक औसत २० लाख रुपैयाँभन्दा बढी मुलुकमा भित्र्याउने गरेका छन् ।
सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस)ले गरेको एक अध्ययनले दक्ष आईटी फ्रिलान्सरहरुले औसतमा वार्षिक १५ हजार ३ सय २२ अमेरिकी डलरबराबरको सेवा निर्यात गर्ने देखाएको हो ।
विश्वका अन्य मुलुकमा भने सूचना प्रविधि क्षेत्रलाई नीतिगत रूपमा नै राज्यले प्रवर्द्धन गर्ने गरेको छ । तर नेपालमा भने सरकारको सहयोगविना नै आईटी कम्पनी तथा प्रोफेसनलहरुले सूचना प्रविधिको सेवा निर्यात गरेर ठूलो सम्भावनाको ढोका खोलिरहेका छन् ।
अध्ययनले सन् २०२२ मा मात्रै करिब ६८ अर्ब रुपैयाँको सूचना प्रविधि सेवा निर्यात भएको देखाएको छ । यसले नेपालको कुल ग्राहस्थ उत्पादनमा सूचना प्रविधि क्षेत्रबाट १.४ प्रतिशत र कुल विदेशी मुद्रा आर्जनमा साढे ५ प्रतिशत हिस्सा ओगटेको अध्ययनको निष्कर्ष छ।
सूचना प्रविधिका क्षेत्रमा काम गर्नेहरुले मुलुकमा विदेशी मुद्रा भित्र्याउन महत्वपूर्ण योगदान पुर्याइरहेको आईआईडीएसकी परामर्शदाता डा. अमृता शर्मा बताउँछिन् । ‘नेपालमा सूचना प्रविधिको सेवा दिने कम्पनी ६ हजारभन्दा बढी दर्ता भएका छन्। ७ सयभन्दा बढी कम्पनीले अहिले सेवा निर्यात गरिरहेका छन्। यसले वैदेशिक मुद्रा आम्दानीको काम गरिरहेका छन्,’ उनी भन्छिन् ।
अध्ययनका अनुसार सन् २०२२ मा कम्पनी तथा स्वतन्त्र रुपमा काम गर्ने आईटी जनशक्तिको संख्या ६६ हजार ५०९ जना छ । त्यसमध्ये क्लेरिकल डेटा इन्ट्रीमा ७ हजार २१२ जना, क्रिएटिभ एण्ड मल्टिमिडियामा ७ हजार ३५५ जना, प्रोफेशनल सर्भिसेसमा २६७ जना, सेल्स एण्ड मार्केटिङ सपोर्टमा ३ हजार ३२६ जना, सफ्टवेयर एण्ड डेभलपमेन्टमा १४ हजार ७२८ र राइटिङ एण्ड ट्रान्सलेशन इन डिजिटल प्लेटफर्ममा ५ हजार ६६८ जनाले काम गरिरहेका छन् ।
नेपालमा काम गरिरहेका इन्ट्री लेभलका आईटी जनशक्तिले वार्षिक २ हजार ८१० डलर कमाउँछन् भने मध्यम तहका आइटी कामदारले ६ हजार ३९५ र उच्च तहमा रहेका दक्ष जनशक्तिले १५ हजार ३२२ डलरसम्म औसत आम्दानी गरिरहेको आईआईडीएसकी परामर्शदाता डा. शर्मा बताउँछिन् ।
त्यस्तै फ्रिल्यान्सरहरूले भने वार्षिक औसत ४ हजार ७२३ अमेरिकी डलर कमाउने गरेको उनको भनाइ छ ।
आइटी सेवा निर्यातमा सफ्टवेयर इन्जिनियरहरूको योगदान बढी
नेपालबाट आइटी सेवा निर्यात उद्योगमा व्यक्तिगत तथा सामूहिक रुपमा विभिन्न क्षेत्रका दक्ष जनशक्तिहरूले योगदान गरेका छन्। त्यसमध्ये सबैभन्दा धेरै सफ्टवेयर इन्जिनियरिङका क्षेत्रले बढी योगदान गरेको रिपोर्टमा उल्लेख छ।
रिपोर्टअनुसार सबैभन्दा धेरै सफ्टवेयर इन्जिनियरिङतर्फ ३९.५ प्रतिशत, कम्प्युटर साइन्स, इन्जिनियरिङ र एप्लिकेश अध्ययन गरेका जनशक्तिले २९. ६ प्रतिशत, व्यवसायिक रुपमा सिप सिकेकाहरूले ११.१ प्रतिशत, साइबर सेक्यूरिटी, डेटा साइन्स, क्लाउड कम्प्युटिङ, ४.९ प्रतिशत र डिप्लोमा इन आइटीका दक्ष जनशक्तिले १.२ प्रतिशत योगदान गरेका छन् ।
यसैगरी नेपालमा फ्रिलान्सरहरू १७ वटा क्षेत्रलाई प्राथमिकता दिएर आइटी सर्भिसेजको काम गर्दै आएका छन् ।
रिपोर्टअनुसार सबैभन्दा धेरै कोडिङलाई प्राथमिकता दिएर फ्रिलान्सरहरू काम गर्ने गरेको देखाएको छ।
कोडिङपछि दोस्रो नम्बरमा प्रोग्रामिङ, तेस्रोमा डिजाइन, चौथोमा सफ्टवेयर डेभलपमेन्ट र पाँचौंमा सोसल मिडियालाई प्राथमिकता दिएर काम गर्ने गरेको आईआईडीएसको रिपोर्टमा उल्लेख छ।
यसैगरी भिडियो एडिटिङ छैटौं, टेस्टिङ सातौं, सर्च इन्जिन अप्टिमाइजेशन आठौं, एनिमेशन नवौं र कन्टेन्ट डेभलपमेन्ट/मोडरेशन दशौं नम्बरको प्राथमकितामा पर्ने गरेको छ । त्यसपछिको प्राथमिकतामा गेमिङ, सर्भे, ट्रान्सक्रिप्शन, लेबलिङ, एडटेक र प्रडक्ट क्याटेगोराइजेशन पर्ने गरेका छन् ।
‘अहिले नेपालमा कम्पनीभन्दा पनि फ्रिलान्सरको रुपमा काम गर्नेको संख्या धेरै छ । यसले भविष्यमा प्रविधिले देशको विकासमा कायापलट गर्न सक्छ । दिनप्रतिदिन फ्रिलान्सरले प्रविधिका नयाँनयाँ आयामलाई विश्वभर पुर्याउनसके नेपाल आइटी सेवा निर्यात गर्ने हब बन्न सक्छ,’ शर्माको भनाइ छ ।
नेपालमा आइटी कम्पनीभन्दा फ्रिलान्सर बढ्ने र व्यवस्थित तरिकाले सेवा निर्यात नगर्दा देशलाई नोक्सानी इन्फो डेभलपर्सका कार्यकारी प्रमुख उमेश रघुवंशी बताउँछन् । यसैगरी फ्रिलान्सिङ बढ्दै जाँदा प्रविधि कम्पनीहरू बन्द हुने अवस्था आउनसक्ने उनले बताए ।
सरकारले अब सूचना प्रविधि सेवा निर्यातमा नियमन गर्नुपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘यसरी प्रविधिको निर्यातमा कम्पनीहरु कमजोर भए भने भोलि कस्ले कम्पनी खोल्न रुचाउँछ ? सबैले कम्पनी छाडेर फ्रिल्यान्सिङ गर्छन् र हुण्डीको कारोबारमा लाग्छन् । यसले विदेशी मुद्रा आर्जन होइन बाहिर पनि लैजाने जोखिम हुन्छ,’ उनी बताउँछन् ।
नेपालबाट डिजाइनको माग बढी
यता, सफ्टवेयर कम्पनीहरूले नेपालबाट सबैभन्दा धेरै महत्वको काम भने यूआई/युएक्स अर्थात् डिजाइन गर्ने/गराउने गरेको देखिएको छ।
आईआईडीएसका अनुसार आइटी कम्पनीहरूले सबैभन्दा धेरै जनशक्ति डिजाइन (यूआई/यूएक्स)मा लगाउने गरेका छन् । त्यसपछि माइक्रोसफ्टको डेटाबेस म्यानेजमेन्ट सिष्टममा आधारित प्रोग्राम एसक्यूएल सर्भर रहेको छ।
यसैगरी फुलस्टक वेब डेभलपर, पायथन, डेभओपीएस, अटोमेशन टेस्टिङ, क्लाउड कम्प्युटिङ, डेटा साइन्स, एआई, सर्च इन्जिन अप्टिमाइजेशन, साइबर सेक्यूरिटी, जाभा सर्टिफिकेशन, सिष्टम एण्ड नेटवर्किङ, नेट प्रोग्रामिङ, ब्लक चेन डेभलपर र नेटवर्क नोहाउ लगायत अन्य क्षेत्रका काम नेपाली आइटी जनशक्तिले गर्दै आएका छन् ।