Site icon Nepal Janani Media

नेपालको शेअर बजार सुधारको बाटोमा जान लागेको हो?

झन्डै दुई वर्ष देखि सुस्ताएको शेअर बजार क्रमिक रूपमा सुधार हुने सङ्केतहरू देखिन थालेको विश्लेषकहरूले बताएका छन्।

दुई साता अघि सार्वजनिक गरिएको मौद्रिक नीतिले अपेक्षाकृत रूपमा शेअर बजार चलायमान बनाउनका लागि नीतिगत व्यवस्था गर्न नसकेको भए पनि हाल वित्तीय संस्थाहरूसँग तरलता अभाव नरहेको अवस्था र ब्याजदर घट्नसक्ने सम्भावनाका कारण क्रमिकरूपमा बजार उकालो लाग्न सक्ने सम्भावना रहेको उनीहरूको तर्क छ। यद्यपि त्यस्तो हुन केही समय भने लाग्ने उनीहरू बताउँछन्।

त्यस्तै शेअर बजार निश्चित समयसम्म ओरालो लागेपछि क्रमिक रूपमा पुनः लयमा फर्कने गरेको र नेपालमा पनि बजारमा निराशा छाएको दुई वर्ष पुग्न लागिसकेकाले अबका केही महिनामा सुधारका सङ्केतहरू देख्न सकिने अपेक्षा गरिएको उनीहरूको भनाइ छ।

२०७८ भदौ २ गते ३१९८ विन्दुमा पुगेको नेप्से सूचकाङ्क घट्दै १,८०० विन्दु आसपास आएको थियो।

पछिल्ला केही महिनाहरूमा उक्त सूचकाङ्क २,१००को हाराहारीमा उक्लिएको छ।

विगतमा शेअर बजारमा केही सुधारका सङ्केतहरू देखा परेको भए पनि नीतिगत व्यवस्था र तरलताको अभावले गर्दा बजारमा प्रभाव परेको एक जना विश्लेषक नवराज घिमिरे बताउँछन्।

बजार सकारात्मक लयमा गइरहेका बेला मौद्रिक नीतिमार्फत् केन्द्रीय ब्याङ्कले शेअर बजारलाई उच्च जोखिममा राख्दै कर्जा लिँदा ब्याङ्कहरूले जोखिम भार उच्च राख्नुपर्ने प्रावधान राखेपछि बजार प्रभावित भएको उनी बताउँछन्।

‘‘यसपालि पनि शेअर लगानीकर्ताले औसत जोखिम भार विद्यमान १५० प्रतिशतबाट १०० मा झारिदिनुपर्‍यो भनेका थिए। ३,६०० रुपैयाँ पुगेको शेअरको मूल्य ६०० मा आउँदा पनि अब जोखिम भार उस्तै राख्नु पर्छ त? बजार निकै तल आइसक्यो, निकै तल झरिसक्यो मूल्य। त्यसले गर्दा लगानीकर्ताले पुनर्विचार गरियोस् भनेका थिए,’’ घिमिरेले भने।

उनीहरूका माग अनुरूप यसपालिको मौद्रिक नीति सार्वजनिक गर्दा जोखिम भारलाई पुनर्मूल्याङ्कन गर्ने गभर्नरले छनक पनि दिए। लगानीकर्ताहरू हौसिए।

‘‘त्यो दिन बजार पनि राम्रै अङ्कले बढ्यो। तर केन्द्रीय ब्याङ्कले पत्रकार सम्मेलन गरेर शेअर ऋण लिएकामध्ये ५० लाख रुपैयाँको सीमासम्म लिएकाहरूलाई मात्र १०० प्रतिशतको जोखिम भार लाग्ने भनियो। त्यति बोल्ने बित्तिकै तल झरेको बजार पाँच दिनसम्म लगातार घट्यो।

नेपाल पुँजी बजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेल पछिल्लो मौद्रिक नीतिबाट लगानीकर्ताहरूलाई थोरै मलमपट्टी लाग्छ भन्ने अपेक्षा रहे पनि त्यस्तो हुन नसकेको बताउँछिन्।

‘‘हप्ता दिन जति लगानीकर्ताहरू आत्तिए। अहिले पछिल्लो समय (बजार) राम्रै छ। तर अबका केही दिनमा के होला भन्न सकिँदैन,’’ उनले भनिन्।

बजार चलिरहेको अवस्थामै केन्द्रीय ब्याङ्कले नीतिगत विषयवस्तुबारे टिप्पणी गर्नुले शेअर बजारलाई हेर्ने दृष्टिकोण र बजार प्रतिको व्यवहार प्रस्ट पारेको घिमिरेको भनाइ छ।

यद्यपि शेअर बजार अब क्रमिक रूपमा माथि लाग्न सुरु हुने बुझाइ उनको छ।

उनी भन्छन्: ‘‘साउन, भदौमा मुनाफा पनि वितरण हुन सुरु हुने, चौथो त्रैमासिकको प्रतिवेदन पनि प्रकाशन हुने र बिस्तारै बजारले उचाइ लिँदै जाने हो। तर बीचबीचमा यस्तो गरिदिएपछि तमाम लगानीकर्ता निराश भएका छन्।’’

Exit mobile version