अधिकारीहरूले अहिलेकै अवधिसँग गएको वर्ष तुलना गर्दा डेढ गुणा बढी डेङ्गीका घटनाहरू देखिएको तर त्यसबेलाको र अहिलेको प्रकोपको चरित्र भने फरक रहेको बताएका छन्।
पोहोर साल डेङ्गीको प्रकोप मुख्यगरी काठमाण्डू उपत्यकासहितका जिल्लाहरूमा केन्द्रित रहेको भए पनि यसपालि सबैभन्दा धेरै प्रभाव पूर्वी नेपालको सुनसरी जिल्लामा देखिएको छ।
अधिकारीहरूले सन् २०२२ मा ५४, ७८४ डेङ्गी सङ्क्रमण देखा परेका उल्लेख गर्दै त्यो वर्ष उक्त रोगका कारण इतिहासकै सर्वाधिक ८८ जनाको ज्यान गएको बताएका छन्।
विशेष प्रकारको लामखुट्टेको सङ्क्रमणबाट सर्ने डेङ्गीले यो वर्ष थप भयावह रूप लिनसक्ने चिन्ताहरू प्रकट भइरहेका छन्। तर विज्ञहरू वर्षा, सरसफाइ, सामुदायिक हस्तक्षेप जस्ता धेरै कारणको विश्लेषणविना सङ्क्रमणले लिनसक्ने बाटो अनुमान गर्न नसकिने बताउँछन्।
अधिकारीहरूका अनुसार आगामी भदौ र असोज महिनामा डेङ्गीको सङ्क्रमण सर्वाधिक उच्च विन्दुमा पुग्नसक्छ।
साउन १८ गतेसम्मको आँकडा अनुसार यस पटक डेङ्गी ७१ जिल्लामा देखा परेको छ भने करिब ७,२५३ जनामा सङ्क्रमण पुष्टि भएको सरकारी अभिलेखमा राखिएको छ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख रुद्र मरासिनीले यो साल सबै जिल्लामा डेङ्गी देखा पर्ने जोखिम रहेकाले सावधानी अपनाइनुपर्नेमा जोड दिए।
उनी भन्छन्, “पोहोर साल कुल ६६ जिल्लामा देखिएको थियो तर यो साल सबै जिल्लामा पुग्छ भन्ने मलाई लाग्छ। अगस्ट र सेप्टेम्बरमा सङ्क्रमण अझै उच्च विन्दुमा जान्छ र त्यसपछि बिस्तारै कम हुन्छ। त्यही भएर सङ्क्रमण बढ्न नदिन सबैले सहयोग गर्नुपर्ने हुन्छ।”
स्वास्थ्य निकाय एक्लैले यो सङ्क्रमण नियन्त्रण गर्न नसक्ने उल्लेख गर्दै उनले थपे, “सबैले आफ्नो घर र कार्यालयबाट लामखुट्टेको वृद्धि र विकास हुन नदिन काम गर्नुपर्छ। घर वा बाहिर कतै पनि पानी जम्न नदिने काम तुरुन्तै गर्नुपर्छ”
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख गोकर्ण दाहालले यो वर्ष अघिल्लो सालको यही समयको तुलनामा डेङ्गी सङ्क्रमणका घटना डेढ गुणासम्म बढेको पाइएको बताए।
उनी भन्छन्, “डेढ गुणासम्म बढी केस देखिएको अवस्था छ। ७० जिल्लाबाट बिरामीहरूको प्रतिवेदन आएको भए पनि झन्डै पाँचवटा जिल्लामा धेरै सङ्क्रमण देखिएको छ। अझ कुल सङ्क्रमणको ७० प्रतिशतभन्दा बढी सुनसरी जिल्ला एक्लैबाट भएको देखिन्छ।”
महाशाखाको अगस्ट ३ सम्मको तथ्याङ्क अनुसार सुनसरीमा ४,६७९, धादिङमा ८२९ कास्कीमा २१४, दार्चुलामा १९१ र काठमाण्डूमा ११९ वटा ‘केस’ दर्ता भएका छन्।
सन् २०२२ मा डेङ्गीको सबैभन्दा धेरै असर बाग्मती प्रदेशमा थियो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पोहोर साल बाग्मतीमा देखिएका झन्डै साढे ४२ हजार सङ्क्रमणमध्ये ७० प्रतिशतभन्दा बढी काठमाण्डू, ललितपुर र भक्तपुरमा अभिलेख गरिएको थियो।
इडीसीडी प्रमुख मरासिनी भन्छन्, “यो मनसुन सुरु भएपछि बढ्ने रोग हो। अघिल्लो सालभन्दा फरक के देखिएको छ भने गत साल भएका ठाउँमा त्यति देखिएको छैन। अहिले नयाँ ठाउँमा देखिएको छ।”
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख दाहाल फरक फरक प्रवृत्ति देखा परिरहेका कारण डेङ्गीको प्रक्षेपण गर्न सहज नभएको बताउँछन्।
उनले भने, “पानी पर्ने, तापक्रमको स्थिति कस्तो हुने, मान्छेको सचेतना कस्तो छ भन्ने कुराले डेङ्गीको प्रक्षेपणलाई प्रभावित पार्छ। गएको सालभन्दा केसहरू बढेपनि गतसालका ‘क्लस्टर’हरूबाट केसहरू खासै नआएकाले नयाँ जिल्लाहरू, नयाँ शहर उन्मुख जिल्लाहरूबाट घटनाहरू धेरै आउँछ कि भन्ने अनुमान गर्न सकिन्छ।”
दाहालले मानिसहरूले आफ्नो घर वरपर लामखुट्टेको विस्तार र वृद्धिलाई व्यवस्थापन गर्न प्राप्त गर्ने सफलताले यो वर्ष उक्त प्रकोपको प्रभाव नेपालमा कुन स्तरमा देखिने भन्ने प्रक्षेपणमा प्रभाव पार्ने उल्लेख गरे।
लामखुट्टेको बासस्थान नष्ट गर्ने, लार्भाहरू मार्ने र उसले फूल पार्ने पानी भएका स्थानहरू हटाउने जस्ता कदम यो रोग नियन्त्रणका लागि महत्त्वपूर्ण हुने विज्ञहरू बताउँछन्।