जीवनशैलीव्यापार

नेपालमा गाँजा खेतीका निम्ति बजेट, खेती नियन्त्रणका लागि पनि बजेट

केही दशकअघिसम्म सिंहदरबार वैद्यखानाबाट उत्पादन हुने एउटा औषधि झाडापखालाको उपचारका लागि निकै प्रचलित थियो।

तर सन् १९७६ मा नेपालले लागुपदार्थ नियन्त्रणसम्बन्धी कानुन बनाएपछि नेपालमा गाँजा खेती र यसको प्रयोग प्रतिबन्धित भयो।

संयुक्त राष्ट्रसङ्घको सम्मेलनले पारित गरेको अन्तर्राष्ट्रिय सन्धि ‘सिङ्गल कन्भेन्शन अन नार्कोटिक ड्रग १९६१’ मा नेपाल सहभागी भएसँगै सिंहदरबार वैद्यखानाले बनाउने धेरै आयुर्वेदिक औषधिको उत्पादन रोकियो।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय भन्छन्, “नेपालमा गाँजा प्रतिबन्धित भएपछि यसको प्रयोग गरेर बनाइने केही औषधिहरूमा वैकल्पिक जडीबुटी प्रयोग गरेर उत्पादनलाई निरन्तरता दिइए पनि केही औषधिहरूको उत्पादन बन्दै भयो।”

यसरी उत्पादन गर्न बन्द भएकामध्ये ‘रातोबरी’ नामक औषधि पनि हो। “त्यो औषधि अहिले पनि पुराना मानिसहरूले सम्झिन्छन्। तर अहिले त्यो औषधि बन्दैन किनभने त्यसको प्रमुख तत्त्व नै गाँजा थियो। गाँजा प्रतिबन्धित भएपछि त्यो पनि बन्न छोड्यो,” आयुर्वेद चिकित्सक डा. शारदा खनाल भन्छिन्।

विभागका महानिर्देशक डा. उपाध्यायका अनुसार आयुर्वेदमा आजभन्दा झन्डै २,००० वर्षअघिदेखि प्रचलनमा रहेका ‘चरक संहिता’ नामक ग्रन्थमा पनि गाँजा र यसबाट बन्ने भाङको प्रयोग औषधिका लागि उपयोगी हुने उल्लेख छ।

“त्यसैलाई टेकेर परम्परागत औषधिमा भाङ प्रयोग गरिएको छ,” उनी भन्छन्।

महानिर्देशक उपाध्याय र डा. खनालका अनुसार गाँजाबाट उत्पादन गर्न सकिने औषधि प्रभावकारी हुनसक्ने रोगहरू:

  • पाचन तथा पेटसम्बन्धी रोग
  • स्नायुरोग तथा टाउको दुख्ने
  • मानसिक रोग तथा डिप्रेशन
  • दुखाइ कम गर्ने र क्यान्सर

स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा. विष्णु मरासिनीका अनुसार नेपालको उच्च पहाडी र हिमाली क्षेत्रमा उत्पादन हुने गाँजामा औषधीय गुण धेरै पाइन्छ।

“गाँजामा टेट्राहाइड्रोक्यानबिनोल (टीएचसी) भन्ने तत्त्व हुन्छ। त्योबाहेक अरू एल्कालोइड (क्षाराभहरू) पनि हुन्छन्,” उनी भन्छन्।

उनका अनुसार पनि दुखाइ कम गर्न र डिप्रेशनको उपचारमा गाँजामा पाइने यी तत्त्वहरू उपयोगी हुन्छन्।

“नेपालको उच्च लेकाली भूभागमा पाइने गाँजामा त्यो अझै बढी हुन्छ,” उनी भन्छन्। “जति उचाइमा भयो टीएचसी त्यति नै बढी पाइन्छ। तराईतिर कम हुन्छ।”

मरासिनीका अनुसार गाँजाको पनि भाले र पोथी बोट हुन्छ।

“पोथी बोटमा हुने फूलको झुप्पालाई ‘इनफ्लोरसन्स’ भनिन्छ त्यसमा यो तत्त्व बढी पाइन्छ,” उनी भन्छन्।

प्रत्येक गाँजाको बोटमा यो तत्त्व नपाइन सक्छ र कुनैमा कम कुनैमा बढी हुन्छ। तर नेपालको हावापानी र उचाइका कारण यहाँ उत्पादन हुने बोटहरूमा ती तत्त्वहरू बढी हुने विभिन्न अनुसन्धानका नतिजाले देखाएको अनुसन्धानकर्ताहरू बताउँछन्।

“प्रशोधन गरेर टीएचसी निकाल्न सकियो भने त्यो एकदमै राम्रो औषधि हो। यो एउटा उत्कृष्टमध्येको औषधिको स्रोत पनि हो भन्ने अहिले अनुसन्धानहरूले देखाएका छन्,” मरासिनी भन्छन्।

वैद्यखाना विकास समितिका भूतपूर्व प्रबन्धनिर्देशक चन्द्र सापकोटाका अनुसार धेरै देशमा क्यान्सरका बिरामीको उपचारमा यसको प्रभावकारिता देखिएको भन्दै थप अनुसन्धान भइरहेको छ।

“बाहिरी देशहरूमा क्यान्सर रोगको उपचारमा प्रयोगका लागि अनुसन्धान सुरु भएको छ। क्यान्सरमा असह्य पीडा हुन्छ, यसले त्यो पीडा कम गर्न सहयोग गर्छ,” उनी भन्छन्।

“गाँजा औषधि पनि हो यसको लोक्ताबाट राम्रो कपडा पनि बनाउन सकिन्छ,” सापकोटाले भने।

तर अनुसन्धानकर्ता मरासिनीका अनुसार औषधीय गुण धेरै भएका गाँजाको बोटमा कपडाका लागि प्रभावकारी हुँदैनन् र कपडा बनाउन राम्रो मानिने बोटहरू औषधिका लागि राम्रो मानिँदैनन्।

Related posts
जीवनशैली

अस्पतालबाट फर्केकी महिलाले बाटोमै बच्चा जन्माइन्, छोरी हुन्छन् भन्ने डरले अप्रेसन गर्नै मान्दैनन् दुर्गमका महिला

बाजुरा । खप्तड क्षेडेदह गाउँपालिका–१…
Read more
व्यापारसमाचार

युवालाई चुनौती उद्यमशीलतामा

काठमाडौं :रामेछापमा करिब १ सय २२…
Read more
राजनीतिव्यापारसमाचार

इन्धनको मूल्य बढेकाे २४ घण्टा नपुग्दै सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौं । सरकारले सार्वजनिक…
Read more