अन्य

जिकिँदै कांग्रेसको महासमिति बैठक, तयारी के हुँदैछ ? 

– महासमिति बैठकमा विधान संशोधनबारे छलफल नहुने, पार्टीको नीति र कार्यदिशामात्रै तय हुने

काठमाडौँ — नेपाली कांग्रेसले महासमिति बैठकको तयारी तीब्र बनाएको छ । देशभरि महासमिति सदस्यहरूको निर्वाचन धमाधम भइरहेको छ भने केन्द्रीय कार्यालयले बैठकको भौतिक र प्राविधिक तयारीलाई अन्त्यतर्फ पुर्‍याएको छ । आगामी मंसिर १३ देखि १५ गतेसम्म हुने बैठककालागि

सभापति शेरबहादुर देउवा र शीर्ष नेताहरूबीच अहिले पार्टीको विधान संशोधनका विषयमा छलफल नगर्ने सहमति भइसकेको छ ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यसपटक महासमिति बैठकले पार्टीको अबको नीति र कार्यदिशाका विषयमामात्रै निर्णय लिने बताए । ‘महासमिति बैठकले निर्वाचनबाहेक महाधिवेशनले गर्ने सबै काम गर्न सक्छ । तर यसपटक हामी विधान भत्काउने वा र थपघट गर्नेमा अलमलिने पक्षमा छैनौँ,’ विश्वकर्माले इकान्तिपुरसँग भने, ‘यो महासमिति बैठक विशुद्ध पार्टीको अबको नीति र कार्यदिशामा केन्द्रित हुन्छ ।’

उनका अनुसार महासमिति बैठकका लागि हलको टुंगो लगाउनेबाहेक सबै प्राविधिक तयारीहरू पूरा भएको छ । असोज पहिलो साता बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयबमोजिम गठन भएका तयारी समितिहरूले आ–आफ्नो कामलाई तीव्रता दिएका छन् ।

बैठकले सभापति देउवाको संयोजकत्वमा महासमिति बैठक मूल आयोजक समिति गठन गरेको थियो । समितिमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रदेश सभापतिहरू, काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापति तथा भ्रातृ संस्थाका अध्यक्षहरू सदस्य छन् । महासमिति बैठकका लागि अब एक महिनामात्रै बाँकी छ । तर सभापति देउवाले मूल आयोजक समितिको बैठक भने राखेका छैनन् ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने मूल आयोजक समितिको बैठक नबसे पनि उपसमितिहरूमार्फत् महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगिसकेको दाबी गरे ।

‘महासमिति बैठकको भौतिक र प्राविधिक तयारी अन्तिम चरणमा छ,’ उनले भने, ‘अर्को महत्वपूर्ण पक्ष भनेको बैठकका लागि प्रस्ताव तय गर्ने हो । त्यसकालागि उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र विज्ञहरू सम्मिलित समूहले काम गरिरहेको छ ।’

बैठकमा महामन्त्री गगन थापाले पार्टीको सांगठनिक प्रतिवेदन पेश गर्नेछन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्तावहरू पेश गर्नेछन् । महासमिति बैठकका लागि केन्द्रीय सदस्यहरूले यसअघिको केन्द्रीय कार्यसमिति बैठकमै सुझावहरू राखिसकेका छन् । बैठकमा महासमिति बैठक काठमाडौंबाहिर गर्न प्रस्ताव भएपनि सभापति देउवाले काठमाडौंमै गर्नुपर्नेमा जोड दिएपछि काठमाडौंमै गर्ने गरी निर्णय भएको थियो ।

‘अब पार्टीको नीति कस्तो हुने ? मुलुकको वर्तमान राजनीति, अर्थतन्त्र, समाज, समस्या र तिनको निकासका विषयमा पार्टीले प्रष्ट कार्यदिशा तय गर्नुपर्नेछ, त्यसकालागि विज्ञहरूसहितको समूहले प्रस्तावहरू तय गर्ने काम भइरहेको छ,’ प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘मस्यौदाको टुंगो लागेपछि उपसमितिहरूमार्फत ती प्रतिवेदनहरूलाई अन्तिम रूप दिने काम हुन्छ ।’

केन्द्रीय सदस्यहरूले भने महासमिति बैठकबाट मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, कमजोर अर्थतन्त्र, बढ्दो युवा पलायन र शिथिल परराष्ट्र नीतिलगायत विषयमा पार्टीले आशाको सञ्चार गर्न सक्नुपर्ने सुझाव राखेका थिए । त्यस्तै, संविधान संशोधन र आवश्यक कानूनी व्यवस्थाहरूको प्रबन्ध र संशोधन, निर्वाचन प्रणालीमा सुधार लगायत विषयहरू समेत महासमितिबाट टुंगोमा पुर्‍याउनुपर्ने नेताहरूको सुझाव थियो ।

५५ जिल्लाबाट चुनिए महासमिति सदस्य

महासमिति बैठकमा कांग्रेसका महासमिति सदस्यहरू सहभागी हुन्छन् । कांग्रेसको विधानमा हरेक निर्वाचन क्षेत्रबाट ११ जना महासमिति सदस्य निर्वाचित हुने व्यवस्था छ । त्यसअनुसार मंगलबारसम्म ५५ जिल्लाबाट महासमिति सदस्यहरूको निर्वाचन भइसकेको मुख्यसचिव पौडेलले जानकारी दिए । ‘कतिपय जिल्ला र क्षेत्रहरूमा यसअघि पार्टीको महाधिवेशनकै बेला महासमिति सदस्यहरूको निर्वाचन भएको थियो । नभएका जिल्ला र क्षेत्रहरूलाई कात्तिक २४ भित्र निर्वाचन सम्पन्न गरेर नाम पठाउन निर्देशन दिइएको छ,’ पौडेलले अघि भने, ‘अहिले विवाद नभएका ठाउँमा सर्वसम्मत, र कतिपय ठाउँमा निर्वाचनमार्फत् पनि महासमिति सदस्यहरू चुन्ने काम भइरहेको छ ।’

विधानअनुसार क्षेत्रीय अधिवेशनका प्रतिनिधिहरूले महाधिवेशन प्रतिनिधिहरू चयन गर्ने र महाधिवेशन प्रतिनिधिहरूमध्येबाट महासमिति सदस्य निर्वाचित हुन्छन् । हरेक क्षेत्रबाट दुई महिलासहित प्रत्यक्षतर्फ ७ जना र महिला, दलित, आदिबासी जनजाति, खसआर्य, मधेशी, थारू, मुस्लिम र पिछडिएका क्षेत्रबाट जनसंख्याको बनोटका आधारमा चार जना समानुपातिक समावेशी सिद्धान्तअनुसार निर्वाचित हुनेछन् । यसरी १६५ निर्वाचन क्षेत्रबाट १८१५ जना महासमिति सदस्यको प्रतिनिधित्व हुनेछ ।

केन्द्रीय सभापतिले विधानको दफा ५१ (ख) बमोजिम बढीमा १५ जना महासमिति सदस्य मनोनीत गर्न पाउनेछन् । भ्रातृ तथा शुभेच्छुक संस्थाहरूबाट ३/३ जना तथा प्रवासस्थित जनसम्पर्क समितिबाट क्रियाशील सदस्य संख्याको आधारमा ६ जनासम्म प्रतिनिधिले महासमिति बैठकमा भाग लिन पाउने व्यवस्था छ । प्रचार विभाग प्रमुख विश्वकर्माकाअनुसार महासमिति बैठकमा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रका करिब २५ सय नेता कार्यकर्ता सहभागी हुनेछन् ।

कांग्रेसले ०७८ को मंसिरमा पार्टीको महाधिवेशन गरेको थियो । त्यसबेला नीतिमाथि बहस नगरी नेतृत्व चयन गरिएको थियो । नेताहरुले त्यसबेला ६ महिनाभित्र नीति महाधिवेशन गर्ने र तत्काल नेतृत्व चयनमात्रै गर्ने सहमति जुटाएका थिए । तर त्यसअनुसार नीति महाधिवेशन गर्न नसकेका कारण कांग्रेसले महाधिवेशनको करिब दुई वर्षपछि हुन लागेको महासमिति बैठकलाई नीति विशेष बनाउन लागेको हो । त्यसो त विधानबमोजिम महासमिति बैठकसमेत महाधिवेशन भएको एक वर्षभित्र गरिसक्नुपर्ने व्यवस्था छ ।

देशभरिबाट करिब २५ सय नेता कार्यकर्ता काठमाडौंमा जम्मा हुनेछन् । महासमिति कांग्रेसको महाधिवेशनपछिको अर्को शक्तिशाली अङ्ग हो ।

नजिकिँदै कांग्रेसको महासमिति बैठक, तयारी के हुँदैछ ? 

महासमिति बैठकले केन्द्रीय कार्यसमितिको निर्वाचनबाहेक महाधिवेशनले गर्ने सबै कार्यहरू गर्न सक्ने वैधानिक व्यवस्था छ । त्यसआधारमा पार्टीको विधानमा फेरबदल गर्नेदेखि पार्टीको राजनीतिक कार्यदिशा गर्नेसम्मका सबै काम महासमिति बैठकबाट सम्भव छ । तर यसपटकको महासमिति बैठकमा भने कांग्रेसले पार्टीको अबको नीति र आगामी कार्यदिशाका बारेमा मात्रै छलफल गर्नेछ ।

Related posts
अन्य

कारागारमा बम्जन : यस्तो छ दैनिकी

महोत्तरी — क्षमताभन्दा दुई गुणा बढ…
Read more
अन्य

भूकम्पपीडितको उद्धार र राहतमा सहकार्यमा जुट्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल…
Read more
अन्य

कांग्रेसका तिहार अघिका पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित

काठमाडौँ — नेपाली कांग्रेसले तिहार…
Read more