समाचार

अमेरिका पठाइदिने भन्दै मानव वेचबिखन गर्ने गिरोहका नाइके पक्राउ

काठमाडौँ — अमेरिका पठाइदिने भन्दै मानव वेचबिखन गर्ने गिरोहका नाइके पक्राउ परेका छन् । विभिन्न प्रलोभन देखाइ ठूलो मात्रामा रकम असुलेको आरोपमा नेपाली मूलका अमेरिकी नागरिक ५२ वर्षीय हस्त गौतमलाई बुधबार रुपन्देहीबाट पक्राउ गरेको मानव बेचविखन अनुसन्धान ब्युरोका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।

प्रहरीका अनुसार रुकुम सिस्ने गाउँपालिका-४ मा जन्मेर अमेरिकाको टेक्सस बस्दै आएका गौतमले अमेरिकी नागरिकता लिएको पनि पुष्टि भएको छ । गौतमको समूहले २ करोडभन्दा बढी ठगी गरेको प्रहरीले जनाएको छ ।

अमेरिका पठाइदिने भनी नेपाली नागरिकहरुलाई यूएई (दुबई), थाइल्यान्ड, फिलीपिन्स, जाम्बीया, सिंगापुर, हङकङलगायत देशहरुमा पुऱ्याई राहदानी, मोबाइलसमेत जफत गरी ठूलो मात्रामा पैसा माग गर्ने, एजेन्टले भने जति पैसा नदिएमा शारीरिक, मानसिक यातना दिने, विदेशमा रहेका एजेन्टहरुलाई बेचबिखन गर्ने, बुझाउनेजस्ता क्रियाकलाप गरी अलपत्र पार्ने कार्यमा संलग्न व्यक्तिहरुमध्येका गौतम नाइके भएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सोही मुद्दामा पक्राउ परेका प्रतिवादी कमल तामाङलगायतमाथि अनुसन्धानका क्रममा प्रमुख योजनाकार प्रतिवादी गौतमलाई बेलहीयाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गौतमले आफ्नो आधार मेक्सिकोमा बनाई विश्वासिला ५ जना एजेन्टहरुलाई नेपाल, दुबई, सिंगापुर, फिलीपिन्स, थाइल्यान्ड, श्रीलंका, कोलम्बीया, ल्याटिन अमेरिका लगायतका देशहरुमा परिचालन गरी अमेरिका पठाउने भनी ठूलो मात्रामा रकम लिने, बन्धक बनाउने, शारीरिक मानसिक यातना दिने, अन्य व्यक्तिहरुलाई बेचबिखन गर्ने जस्ता कार्यहरु गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले गौतमसमेतको संलग्नता भएको मुद्दामा ब्यूरोमा ५ वटा मुद्दा दर्ता भएको जनाएको छ । उनीहरुबाट ६ जना पीडितहरू बनेकामा ४ जनाको उद्धार भइसकेको र २ जनाको उद्धार हुन बाँकी रहेको जनाइएको छ ।

गौतमले हालसम्म २ सय नेपाली नागरिकहरुलाई अमेरिका पठाइसकेको बयान दिएका छन् । तर, १३ नेपालीलाई अमेरिका पठाइदिने भनी विभिन्न देशहरुमा पठाई अलपत्र पारेको प्रहरीको अनुसन्धानमा खुलेको छ । गौतमले भिजिट भिसाको समेत चरम दुरुपयोग गरेको ठहर गर्दै प्रहरीले गौतममाथि जिल्ला अदालतबाट ७ दिन म्याद लिई अनुसन्धान जारी राखेको जनाएको छ । गौतममाथि मानव बेचबिखन, ओसारपसार तथा संगठित अपराध मुद्दा दर्ता भएको छ ।

Related posts
समाचार

इजरायलको जोखिम क्षेत्रबाट थप ७२ जना नेपाली विद्यार्थीको उद्धार

काठमाडौँ — इजरायलको जोखिम क्षेत्रमा…
Read more
समाचार

महिलाका मुद्दा अब पारिवारिक इजलासमा

पेसी नसार्न र नियमित सुनुवाइ गर्न…
Read more
समाचार

इजरायलमा रहेका नेपाली विद्यार्थीको अनुरोध - ‘सरकारले हाम्रो उद्धार गरोस्’

काठमाडौँ — हामी आएको एक महिना भयो ।…
Read more