समाचार

सुन तस्करीको छानबिनका लागि जाँचबुझ आयोग बनाउने दलहरुबीच सहमति

काठमाडौँ — प्रतिनिधिसभाका प्रमुख राजनीतिक दलहरुबीच सुनकाण्डको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने समझदारी बनेको छ । सिंहदरबारमा भएको प्रतिनिधिसभाका राष्ट्रिय पार्टीहरुको बैठकले सीआईबीको अनुसन्धानसँगसँगै आयोगले पनि अनुसन्धान गर्ने गरी सहमति भएको हो । सहमति पत्रमा मंगलबार हस्ताक्षर हुनेछ ।’सुनकाण्डको विषयमा जाँचबुझ आयोग बन्ने र सीआईबीले पनि निरन्तर अनुसन्धान जारी राख्ने गरि सहमति जुटेको छ’ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले कान्तिपुरसँग भने, ‘यसको सहमतिको मस्यौदा तयार गर्न तीन सदस्य समिति गठन गरिएको छ । ‘ लामिछानेले दलहरुबीच भएको सहमतिमा सीआईबीले गरिरहेको कामलाई हस्ताक्षेप नहुने गरि छानबिन गर्ने सहमति भएको बताए 

मस्यौदा समितिमा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छन् ।

‘समितिले तयार पारेको मस्यौदामा भोलि २ बजे हस्ताक्षर गर्ने र ३ बजे हुने संसद्को बैठक सुचारु गर्ने सहमति भएको छ ‘ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने ।

सोमबारको बैठकमा सुनकाण्डको समग्र विषयमा दलहरुबीच छलफल भएको थियो । त्यसमा सुनकाण्डमा संलग्न भएको आरोप लागेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई बयान नलिएकोदेखि अनुसन्धानमा संलग्न प्रहरीलाई गरिएको सरुवाको विषयमा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले प्रश्न गरेका थिए । आयोग गठनको माग गर्दै एमालेले सदन अवरोध गर्दै आएको थियो । एमालेको अडान अनुसार अब अरु दल पनि आयोग बनाउन तयार भएका हुन् ।