सहिद भीमनारायण श्रेष्ठलाई गराइएको बयानमा फारबीसगञ्जबाट ल्याइएको बम नेविसंघका नेतालाई दिने योजना रहेको उल्लेख छ
धनकुटा — पुराना कागजपत्र व्यवस्थापन गर्ने क्रममा उच्च अदालत विराटनगर अन्तर्गतको धनकुटा इजलासमा ४७ वर्ष अघिको एउटा कागज फेला पर्यो । नेपाली कागजमा आकर्षक हस्तलिखित उक्त लेखोटले रजिस्ट्रार राजकुमार दाहालको ध्यान तान्यो । उक्त कागज नेपालको राजनीतिक इतिहासमा चर्चित विराटनगर बमकाण्ड घटनाको फैसला थियो ।
उनले पढे । जतनसाथ राखे । त्यो कागज एउटा समान्य मुद्दाको मिसिल मात्र थिएन, प्रजातन्त्र प्राप्तिका लागि भएको संघर्षका घटनामध्येको एउटा साक्षी थियो । सहिद भीमनारायण श्रेष्ठबारे त्यसमा विस्तृत घटनाक्रम प्रस्ट थियो ।
तत्कालीन पूर्वाञ्चल क्षेत्रीय अदालत, डिभिजन बेञ्च इजलासमा कामु मुख्य न्यायाधीश धनानाथ पन्त र न्यायाधीश गजेन्द्रकेशरी बास्तोलाबाट विशेष अदालतको फैसला सदर भन्दै गरिएको कागजमा भीमनारायण श्रेष्ठलाई मृत्युदण्ड दिइएको फैसला त्यसमा उल्लेख थियो ।
हातहतियार खरखजाना मुद्दा तत्कालीन धनकुटा गाउँपञ्चायत बजार बस्ने केन्द्रीय कारागार काठमाडौंमा थुनामा रहेका भीमनारायण श्रेष्ठ प्रतिवादीविरुद्ध प्रहरी निरीक्षक मोहनबहादुर पाण्डेको जाहेरीले श्री ५ को सरकार प्रत्यर्थीवादी थिए ।
२०३० चैत ३ मा विराटनगरमा तत्कालीन राजा वीरेन्द्र सहभागी कार्यक्रममा बम प्रहार गरेको अभियोगमा श्रेष्ठलाई घाइते अवस्थामा पक्राउ गरिएको थियो । फैसलाको सुरुमा बिना लाइसेन्सको ३६ नम्बर हृयाण्ड ग्रिनेड भारतबाट नेपालमा पैठारी गरेको ठहर्याइ एक सदस्यीय विशेष अदालत (वाग्मती अञ्चल रानीपोखरी) ले गरेको फैसला उपर प्रतिवादी श्रेष्ठको पुनरावेदनमा भएका तथ्यबारे ७ पृष्ठको फैसलामा विस्तृतरुपमा उल्लेख गरिएको छ ।
क्षेत्रीय अदालतको फैसलालाई नै सदर गर्दै २०३३ फागुन ६ गते बिहीबार सर्वोच्च अदालतले पनि मृत्युदण्डको सजाय गर्ने फैसला गरेको थियो । सर्वोच्चका न्यायाधीश वासुदेव शर्माको इजलासले उक्त फैसला सुनाएको थियो । उक्त फैसलामा भनिएको छ– ‘पुनरावेदक भीमनारायण श्रेष्ठलाई राजकाज (अपराध र सजाय) ऐन २०१९ को दफा २ बमोजिम मृत्युदण्ड दिने गरेको क्षेत्रीय अदालतको इन्साफ सजाय मुनासिब ठहर्छ ।’
सोहीबमोजिम श्रेष्ठलाई २०३५ माघ २६ मा कोशी टप्पुको जंगलमा गोली हानी मृत्युदण्ड दिइएको थियो । श्रेष्ठका छोरा मनोजनारायणका अनुसार मृत्यदण्ड दिइएको स्थानबाट नजिकै सप्तकोशी नदी किनारमा शव राखिएको थियो । श्रेष्ठका भाइ वीरेन्द्रनारायणलाई शव बुझ्न लगाइएको थियो । ‘जबर्जस्ती दागबत्ती दिन लगाइयो,’ भाइ वीरेन्द्रले त्यो दिन स्मरण गरे, ‘बाबुआमा भएका व्यक्तिले दागबत्ती दिन नमिल्ने भन्दै निकैबेर भनाभनसमेत भयो । पछि सेनाका एक ब्राम्हणले दागबत्ती दिएका थिए ।’
बम कसरी भित्रियो ?
विराटनगरस्थित आदर्श माध्यमिक विद्यालय र मञ्चपछि राजा समीक्षालयतर्फ जाने क्रममा अस्पताल अगाडि चैत ३ शनिबार बिहान ९ः४५ बजे बम विस्फोट भएको थियो । घटनामा एक जनाको मृत्यु र ३९ जना घाइते भएको अदालती मिसिलमा उल्लेख छ ।
२०३० फागुन (फैसलामा १७–१८ गते भनिएको) २६ गते भीमनारायणका भाइ वीरेन्द्रनारायणको विवाह हुने तय भएको थियो । त्यसका लागि आवश्यक सामान किन्न उनी विराटनगर हुँदै भारतको फारबिसगञ्ज गए । व्यापारका सिलसिलामा फारबिसगञ्ज जाँदा श्रेष्ठ र निर्वासनमा रहेका कप्तान यज्ञबहादुर थापासँग उनको भेटघाट हुने गर्थ्यो । त्यसबेला पनि भेट भयो । थापा धनकुटामा सेनामा कार्यरत रहँदा आत्मीयता बढेको थियो । त्यतिबेलाको भेटमा थापाले श्रेष्ठलाई ‘रामकृष्ण श्रेष्ठलाई दिनु’ भन्दै कागजमा पोको पारिएको गह्रौं वस्तु दिएका थिए । उक्त वस्तु ३६ नम्बर ह्यान्ड ग्रिनेड थियो ।
रामकृष्ण नेपाल विद्यार्थी संघका नेता थिए । विराटनगरको ट्राफिक चोकनजिक डेरामा बस्थे । उक्त बम गिरिजाप्रसाद कोइराला र थापाले दिएको उल्लेख छ । नेपालमा वास्तविक प्रजातन्त्र ल्याउन सशस्त्र क्रान्ति जरुरी हुँदा उक्त बम ‘राजालाई लक्ष्य गरी प्रहार गर्नु नत्र प्रहरी, बैंक भवनमा हान्नू’ भनेर दिएकाले रामकृष्णलाई दिएको भन्ने श्रेष्ठले २०३० वैशाख ९ मा प्रहरीमा बयान दिएको ठाडो कागजमा उल्लेख छ । यस्तै, सोही व्यहोराको जेठ २ बुधबारको प्रहरी प्रतिवेदनसमेत फैसलामा उधृत गरिएको छ ।
श्रेष्ठले प्रहरीमा दिएको साबिती बयानअन्तर्गत बम प्रहार गर्नु अघि रामकृष्ण र उनले बमको लिभर रुमालले बाँधेर थिची विस्फोट गर्न तयारी अवस्थामा कमिजको फेरले छोपेर सहिद मैदानतर्फ जाँदा कडा सुरक्षा व्यवस्थाले फाल्न नसकी अस्पताल अगाडि भुइँमा खसेर विस्फोट भएको उल्लेख गरिएको छ ।
घटनामा गम्भीर घाइते भएका रामकृष्णको तत्काल अस्पतालमा मृत्यु भएको थियो । फैसलामा भनिएको छ, ‘अभियुक्त भीमनारायणले इजाजतबेगर अवैध हातहतियार भारतबाट नेपालमा ल्याइ विस्फोटन गरेको साबिती बयान गरेकाले खरखजाना ऐन २०१९ को दफा २० को उपदफा २ (ख) अनुसार सजाय हुने प्रहरीको प्रतिवेदनमा उल्लेख भएकाले सोही अनुसार सजाय हुने फैसला गरिएको छ ।’
तत्कालीन अञ्चलाधीश वीरेन्द्रबहादुर शाह र डीआइजी दुर्लभकुमार थापाको निर्देशनमा चरम यातनाका कारण प्रहरीमा साबिती दिएको श्रेष्ठले अदालतमा बताएका थिए ।
मृत्युदण्ड दिइएको स्थानमा पहिलो पटक परिवार
२०३५ माघ २६ को घटना ८६ वर्षीया लक्ष्मीदेवीको जीवनकै सबैभन्दा स्तब्ध क्षण थियो । घटनाले कैयौं दिन विक्षिप्त हुनु पर्यो । पति भीमनारायणलाई गुमाएको त्यही दिन थियो ।
लालाबाला २ छोरा र २ छोरीको जिम्मेवारी उनकै काँधमा आइपर्यो । तत्कालीन शासकले सधैं घरपरिवारमाथि गिद्धे नजर लगाउनु सामान्य थियो । पति सहिद भएपछि सान्त्वना दिने भए पनि पारिवारिक जिम्मेवारीले उनले धान्नु पर्थ्यो । पतिलाई मृत्यदण्ड दिएको स्थानमा लक्ष्मीदेवी गत साउन २४ मा पहिलो पटक पुगिन् । ‘त्यहाँ पुग्दा मलाई विगत आँख अगाडि आयो,’ उनले भनिन्, ‘सम्हालिँदै श्रद्धाञ्जली दिएँ ।’ उनीसँगै छोरा मनोजनारायण, छोरीहरू ममता, बबिता, बहिनी प्रभा र शान्तिसमेत गएका थिए । मृत्युदण्ड दिएको र दाहसंस्कार गरिएको स्थानमा पुगेर परिवारजनले जल चढाउनुका साथै धुपबत्ती गर्दै प्रार्थना गरेको छोरा मनोजले बताए ।
नाममा स्थापित विद्यालयको छात्रवृत्तिका लागि सहिद परिवारले दुई लाखको अक्षयकोष स्थापना गरेको छ । झापाको शिवसताक्षी–११ स्थित सहिद भीमनारायण आधारभूत विद्यालयका लागि दुई लाखको अक्षयकोष स्थापना गरिएको छोरा मनोजनारायण श्रेष्ठले बताए । अक्षयकोषको ब्याजबाट विद्यालयका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ । उक्त अक्षयकोष सहिद भीमनारायण स्मृति प्रतिष्ठानको नाममा बैंकको मुद्दती खातामा राखिने सम्झौता भएको छ । सहिदपत्नी लक्ष्मीदेवीले प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठलाई आइतवार धनकुटा–६ स्थित भीमनारायण चोकमा रहेको सहिदको सालिकस्थलमा चेक हस्तान्तरण गरिन् । प्रतिष्ठानले हरेक वर्ष अक्षयकोषबाट प्राप्त ब्याज रकम विद्यालयलाई हस्तान्तरण गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
प्रत्येक वर्ष माघ २६ मा स्मृति दिवसको अवसरमा छात्रवृत्ति तथा पुरस्कार प्रदान गरिने विद्यालयका प्रधानाध्यापक प्रभाकर भण्डारीले बताए । २०५० सालमा स्थापना भएको उक्त विद्यालय कांग्रेस नेता स्व.गणेशमान श्रेष्ठले उद्घाटन गरेका थिए । पतिको नाममा अक्षयकोष स्थापना गर्न पाउँदा आफूलाई खुसी मिलेको पत्नी लक्ष्मीदेवीले बताइन् ।
सहिद घोषणा, सुविधा दिइएन
भीमनारायण श्रेष्ठ र कप्तान यज्ञबहादुर थापालाई मृत्युदण्ड दिइएको ३८ वर्षपछि नेपाल सरकारले २०७२ मा राष्ट्रिय सहिदको सम्मान दिएको थियो । केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले घोषणा गरेको थियो । तर, राज्यले परिवारलाई उपलब्ध गराउनु पर्ने कुनै सुविधा दिएको छैन ।
‘घोषणा गरेपछि दिनु नदिनु राज्यको कुरा हो । बुवा देशका खातिर सहिद हुनुभयो, राज्यले ढिलै भए पनि सहीद घोषणा गर्यो,’ छोरा मनोजनारायणले भने । सुविधाका लागि परिवारले गुनासो नगरेको उनले बताए । यस्तै, अर्का छोरा मनोहरनारायण श्रेष्ठ स्वयम् संविधानसभा सदस्य भएका थिए । उनले यसबारे सरकारमा कहिल्यै गुनासो गरेनन् । ‘सहिदको योगदानलाई पैसा वा सुविधाले पूर्णता दिंदैन,’ उनी भन्छन् ।
व्यवस्था परिवर्तनका लागि अघि बढ्दा अदालतले फैसला गरेर मृत्युदण्ड दिएकामध्ये भीमनारायण र क्याप्टेन यज्ञबहादुर थापा रहेकाले त्यसको महत्त्व भने राज्यले बुझ्नुपर्ने परिवारजनको भनाइ छ ।
यस्तो थियो फैसला :