Site icon Nepal Janani Media

सरुवा बिचौलिया’ रोक्न मन्त्रालयको गेटमा प्रहरी ! 

बेन्च र टेबुल राखेर गेटमा बसेका प्रहरीले थाले मन्त्रालयमा आउजाउ गरिरहनेको निगरानी

काठमाडौँ — कर्मचारी सरुवामा विचौलियाको चलखेल बढेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मूल गेटमा प्रहरी राख्न थालिएको छ । मन्त्रालयको अग्रभागमा रहेको दुईतिर खुल्ने ढोकाको एकातिर बन्द गरिएको छ भने कोठाकोठामा सीसीटीभी क्यामरा जडान गरिएको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सुमन दाहालले अनावश्यक मान्छेको प्रवेशले भीडभाड बढेर काममा अवरोध सिर्जना भएकाले यस्तो व्यवस्था गरेको बताए । ‘नचाहिने मान्छे किन लगातार आइरहन्छन् त्यो पनि हामीले पहिचान गर्न खाजेका छौं,’ उनले भने,‘अव एउटै व्यक्ति एकै दिन कति पटक आउँछ त्यसको रेकर्ड राखिनेछ ।’ मन्त्रालयका कामभन्दा पनि मान्छेको भीडले अस्तव्यस्त हुने गरेको उनले बताए ।

कर्मचारी बाहेक बाहिरमा व्यक्ति प्रवेश गर्दा अब मन्त्रालयको मूल गेटमा प्रहरीको नियन्त्रणमा रहेको रजिष्टरमा नाम ठेगाना लेखाउनुपर्छ । ड्युटीमा रहका दुई जना प्रहरीले सोधपुछ पनि गर्न सक्छन् । उनीहरु बेन्च र टेबुल राखेर गेटमा बसेका छन् भने आउजाउ गरिरहेका व्यक्ति–व्यक्तिको निगरानी सुरु गरेका छन् । केही दिनअघि मन्त्रालयका एक अधिकृतमाथि हातपात प्रयास भएको थियो । घटनाका बेला सरुवामा सरोकार नराख्ने मान्छे पनि आएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

खासमा स्थानीय तहमा सरुवा हुनेको लर्को मन्त्रालयमा सधैं देखिने गरेको छ । प्रशासनका एक अधिकारीका अनुसार एक जना सरुवा गर्नुपरेमा तीन–चार जना आउने गरेका छन् । कोठा–कोठामा आएर सिफारिस गरेर सरुवा हुने उम्मेदबारबाट नाजायज फाइदा लिने गरेको सूचनाका आधारमा प्रवेशमै कडाइ गरिएको दाबी मन्त्रालय स्रोतको छ ।

प्रशासन प्रमुख दाहालले सरुवा हुन चाहने व्यक्तिले निवेदन नदिइ जनप्रतिनिधिले नै अनुरोध गरे पनि सरुवा नगर्ने बताए । ‘मुख्यतः जो सरुवा हुन चाहन्छ उसले अनुरोध गर्नुपर्छ,’ उनले भने । सरोकार नभएका व्यक्तिको पहिचान गर्न सीसीटीभी क्यामराको सहयोगमा सहज हुने उनले बताए ।

Exit mobile version