Site icon Nepal Janani Media

राष्ट्रपतिबाट कैद माफी पाएका विक हत्या आरोपमा पक्राउ

रुकुम पश्चिम — गत संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएका सानीभेरी गाउँपालिका–९ का लोकेन्द्र भनिने लोकबहादुर विक हत्या आरोपमा पक्राउ परेका छन् । मंगलबार बिहान मृत अवस्थामा फेला परेकी मुसीकोट–७ साँखकी २७ वर्षीया भावना विकको हत्या आरोपमा लोकबहादुरलाई पक्राउ गरिएको हो ।घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा मुसीकोटस्थित एक होटलको कोठामा शव फेला परेको थियो । हत्यामा संलग्न रहेको पाइएपछि मंगलबार साझ खलंगास्थित आफ्नै डेराबाट पक्राउ परेका लोकेन्द्रलाई बुधबार प्रहरीले सार्वजनिक गरेको हो । उनले हत्या स्वीकार गरिसकेको जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईले बताए । प्रहरीका अनुसार दुवै जना बीच प्रेम सम्बन्ध (अनैतिक) रहेको र महिलाले बिहे गर्न प्रस्ताव राखेपछि विवाद बढेर हत्याको अवस्थामा पुगेको बयान दिएका छन् । ‘महिलाले विहे गरौं भन्दा विवाद बढेपछि आवेशमा आएर आफैसँगै रहेको छुरीले हत्या गरेको स्वीकारेको छ,’ डीएसपी भट्टराईले भने, ‘होटलको कोठामा सिरकले छोपेर राखेको अवस्थामा शव फेला परेको हो ।’

गत आइतबार (असोज २८ गते) लोकेन्द्र र भावनाले होटलको कोठा बुक गरेका थिए । मंगलबार (३० गते) बाहिरबाट ढोका बन्द देखेर शंका लागेपछि होटल सञ्चालकले बिहान ८ बजेतिर प्रहरी बोलाएर हेर्दा महिला मृत अवस्थामा फेला परेकी थिइन् । त्यसपछि कर्णाली प्रदेश प्रहरीको कोहलपुरबाट तालिमप्रप्त कुकुर समेत ल्याएर अनुसन्धान गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी भट्टराईले बताए ।

बहुविवाह मुद्दामा रुकुम पश्चिम जिल्ला अदालतको फैसला अनुसार ११ महिना कैद तोकिएका लोकेन्द्र ६ महिना कैद भुक्तान गरेर संविधान दिवसका अवसरमा सजाय माफी पाएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा ६७० जना कैदीको कैद कट्टा गरी सजाय माफी मिनाहा दिएका थिए । असोज २ को मन्त्रिपरिषद्को सिफारिसका आधारमा विभिन्न ऐन, नियमअनुसार भोलिपल्टदेखि लागू हुने गरी ६७० जनाको सजाय माफी मिनाहा गरेको हो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले कारागार नियमावली अनुसार नकारात्मक सूचिमा नपरेका आधा सजाय भुक्तान गरिसकेका कैदीको सजाय माफ गर्न सकिने प्रावधान अनुसार यसअघि लोकेन्द्रले सजाय माफी पाएको बताए ।

मृतक भावनाकी सासुआमा उजेली कामीले बुधबार कर्तव्य ज्यानमा किटानी जाहेरी दिएपछि जिल्ला अदालतबाट स्वीकृती लिई लोकेन्द्रलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यसअघि लोकेन्द्र कारागारमा रहेका बेला पनि मृतक महिला भेट्न जाने गरेको प्रहरीको भनाइ छ । स्थानीयका अनुसार मृतक महिलाका श्रीमान् वैदेशिक रोजगारीमा छन् भने लोकेन्द्रकी कान्छी श्रीमती पनि विहे लगत्तै विदेश हिँडेकी थिइन् ।

Exit mobile version