Site icon Nepal Janani Media

चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री दाहालको भेटवार्ता हाङझाउमै

समकक्षी लीसँग भने बेइजिङमा औपचारिक र द्विपक्षीय भेटवार्ताकाठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभालाई संयुक्त राष्ट्र संघको महासभा र चीन भ्रमणबारे जानकारी गराएका छन् । शुक्रबार प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा आफ्नो राष्ट्र संघको ७८औं महासभा र चीन भ्रमणबारे जानकारी गराएका हुन् । प्रधानमन्त्री दाहाल शनिबार राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जाँदैछन् । प्रधानमन्त्री दाहाल १९‍औं एसियाली खेलकुदको उद्घाटनमा सहभागी हुन न्युयोर्कबाटै चीनसमेत जाँदैछन् । त्यही क्रममा उनले राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छियाङसँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हाङझाउमै भेटवार्ता हुने पनि सदनलाई जानकारी दिए । नेपालले यूएनको महासभामा एक दर्जन मुख्य कार्यक्रममा सहभागिता जनाउने गरी गृहकार्य भएको छ । सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री दाहाल चीन भ्रमणमा निस्कने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले सीसँगको भेटवार्ताबारे जानकारी दिँदै भने, ‘हाङझाउमै महामहिम चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ ।’ प्रधानमन्त्रीको हैसियतमा दाहाल तेस्रो पटक चीन भ्रमणमा जान लागेका हुन् । त्यस्तै बेइजिङमा सेप्टेम्बर २५ मा चिनियाँ समकक्षी ली छ्यािङसँग औपचारिक भेट र द्विपक्षीय भेटवार्ता हुने पनि प्रधानमन्त्री दाहालले संसद्लाई जानकारी गराए ।

अमेरिकाबाट सिधै चीन भ्रमणमा जाँदा राम्रो कूटनीतिक सन्देश नजाने भनेर आलोचना भइरहँदा प्रधानमन्त्री दाहालले भने राष्ट्रसंघीय महासभा र चीनको भ्रमणतालिकाबीचमा छोटो समय भएकाले न्युयोर्कबाटै बेइजिङ जान लागेको बताए । नेपाल र चीनबीच सदियौँदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस पटकको भ्रमणमा कोभिडका कारण सञ्चालन हुन नसकेका विभिन्न नाकाहरू खोल्ने विषयमा पनि छलफल पनि हुने बताए ।संयुक्त राष्ट्र संघको ७८औं महासभामा यस पटक सानो र छरितो टोली जान लागेको पनि प्रधानमन्त्री दाहालले बताए । अति कम विकसित(एलडीसी) देशहरूको अध्यक्षका हैसियतले नेपालले साझा चासोका विषयमा विभिन्न मञ्चमा आफ्ना धारणा राख्ने पनि प्रधानमन्त्री दाहालले बताए ।

Exit mobile version