काठमाडौँ — चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि ९ जना प्राध्यापक/चिकित्सकले आवेदन दिएका छन् । भदौ २६ बाट उपाध्यक्ष श्रीकृष्ण गिरीको ४ वर्षे कार्यकाल पूरा हुँदैछ ।
त्यसपछिको ४ वर्षे कार्यकालका लागि उपाध्यक्ष नियुक्ति गर्न सरकारले नाम सिफारिस समिति गठन गरेको छ । सिफरिस समितिले साउन २६ गते गरेको दरखास्त आह्वान गरेको थियो । सो समयमा ९ जनाको आवेदन परेका समितिले जनाएको छ । मन्त्रिपरिषद्ले लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ । त्यसमा सरकारले मनोनीत गरेको एक जना विज्ञ प्राध्यापक चिकित्सक र प्रधानमन्त्री कार्यालयका सचिवसदस्य रहने व्यवस्था छ । विज्ञ प्राध्यापकमा नेपाली सेनाको मेडिकल कलेजका प्राध्यापक लोचना श्रेष्ठ नियुक्त भइसकेकी छन् ।
शिक्षा मन्त्रालय उच्च स्रोतका अनुसार दरखास्त दिने अन्तिम दिन शुक्रबारसम्म उपाध्यक्ष गिरीसहित ९ जनाको निवेदन परेको हो । उनलाई ४ वर्षअघि केपी शर्मा ओली नेतृत्वको सरकारले उपाध्यक्षमा नियुक्ति गरेको थियो । उनले समेत पुनः उपाध्यक्ष बन्न निवेदन दिएका छन् ।
कांग्रेस निकट नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष अञ्जनीकुमार झाको पनि आवेदन परेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति संगीता सिंह भण्डारीको पनि आवेदन परेको स्रोतले बतायो । उनी उपकुलपति हुँदा अनियमिततामा समेत मुछिएकी थिइन् ।
त्यस्तै पूर्वस्वास्थ्य सचिव प्रवीण मिश्रले पनि आवेदन दिएका छन् । सिभिल अस्पतालका डाइरेक्टर विधाननिधि पौडेल, ट्रमा सेन्टरको पूर्वडाइरेक्टर प्रमोदकुमार यादव, केएमसी अस्पतालका प्राध्यापक सुमनकुमार श्रेष्ठ, बीएण्डबी अस्पतालका चिकित्सक वीरेन्द्रप्रसाद यादव, वीर अस्पतालका चिकित्सक पीयूष दाहाल र प्राध्यापक डाक्टर सुमनकुमार श्रेष्ठले आवेदन दिएको मन्त्रालय स्रोतले जनायो ।