Site icon Nepal Janani Media

कोशीमा गठबन्धनले फाल्यो सहमतिको कार्ड

काठमाडौँ — सत्ता गठबन्धनले कोशी प्रदेशमा सहमतिको सरकार बनाउने प्रस्ताव अघि सारेको छ । कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनमा विद्रोह गरेर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका केदार कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । पार्टी निर्णयविरुद्ध विद्रोह गरेका उनले मुख्यमन्त्री बन्ने बेला आफ्नै पार्टी र गठबन्धनको समेत समर्थन लिएका छन् भने उनलाई विपक्षी एमालेको समर्थनसमेत कायमै छ । जबकि शनिबार बिहान एमाले सांसदलाई आफ्नो सनाखत गराएर मुख्यमन्त्री नियुक्त भएका कार्कीले दिउँसै काठमाडौं आएर कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए । उनी देउवा र दाहालसँग गठबन्धन नटुटाउने प्रतिबद्धता जनाएर फर्किएका छन् ।

तर आइतबारै पहिलो चरणको मन्त्रिपरिषद् विस्तार गर्दा भने उनले एमाले र आफूसँगै विद्रोह गरेका कांग्रेस सांसदलाई मात्रै सहभागी गराएका छन् । मुख्यमन्त्री बन्नेबित्तिकै गठबन्धनको समेत समर्थन पाएका कार्कीको सरकारमा एमाले पनि सहभागी भएको छ । कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन समर्थन गर्न विद्रोह गरेका कांग्रेस सांसदमध्येबाट शमशेर राई र एमाले प्रदेश संसदीय दलका उपनेता रामबहादुर मगरलाई मन्त्री बनाएका हुन् ।

मुख्यमन्त्रीको शपथ लिनेबित्तिकै कार्कीले कोशी प्रदेशमा सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् । ‘मध्यावधिको सम्भावना टरेको छ । अब प्रदेशसभा विघटन नहुने भएको छ,’ कार्कीले सञ्चारकर्मीसँग भने, ‘अब सहमतिको सरकार बन्छ ।’

सरकार बनाउने बेला आफ्नै गठबन्धनमा उठेका फरक मतलाई सम्बोधन गर्न नसकेका शीर्ष नेताहरूले एमालेले कांग्रेसका सांसदलाई विभाजित गरेर मुख्यमन्त्रीमा दाबी गरेपछि अब एमाले समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई नै समर्थन गरेर उनैमार्फत् सहमतिको सरकार बनाउने कार्ड फ्यालेका छन् भने पार्टीमा विद्रोह र विपक्षीको समर्थनमा मुख्यमन्त्री बनेका कार्की शपथ लिएकै दिनदेखि चेपुवामा परेका छन् । एकातिर गठबन्धनले कार्कीलाई आफ्नो मुख्यमन्त्री दाबी गरेको छ भने अर्कोतिर विश्वासको मतको सुनिश्चितता हुँदासम्म एमालेलाई साथमा राख्नुपर्ने कार्कीको बाध्यता छ ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धनको सरकारमा एमाले पनि सहभागी हुन चाहेको दाबी गरे । ‘शीर्ष नेताहरूबीच भएको सहमतिबमोजिम उहाँ मुख्यमन्त्री बन्नुभएको हो । त्यसअनुसार उहाँ गठबन्धनकै मुख्यमन्त्री हो, त्यसो भएपछि सरकार पनि हाम्रै भयो,’ विश्वकर्माले भने ।

मुख्यमन्त्री बनेका कार्की नेता शेखर कोइराला निकट हुन् । कोइरालाकै निर्देशनमा कोशी प्रदेशसभाका ८ सांसदले पार्टी र गठबन्धनको निर्णयविरुद्ध विद्रोह गरेका थिए ।

कार्कीको विद्रोहपछि शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा र कोइरालाबीच लिखित सहमति भएको थियो । ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौँ । यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौँ,’ शनिबार देउवा, दाहाल र कोइरालाले हस्ताक्षर गरेको सहमतिमा लेखिएको छ ।

बालुवाटारमा सहमति गरेपछि प्रधानमन्त्री दाहालले चितवन पुगेर कोशीमा गठबन्धनबाटै कार्की मुख्यमन्त्री बनेको र गठबन्धनकै सरकार बन्ने दाबी गरेका थिए । तर कार्कीले आइतबार आफ्नो सरकारमा एमालेलाई सहभागी गराएपछि भने त्यो सहमतिमाथि प्रश्न उठेको छ ।

कांग्रेसका प्रचार विभाग प्रमुख विश्वकर्माले भने शनिबार तीन नेताबीच भएको सहमति नतोडिएको बताउँछन् । ‘गठबन्धनले मुख्यमन्त्रीमा कार्कीलाई सघाउने र गठबन्धन नटुटाउने सहमति हो । त्यो सहमति कायम छ,’ विश्वकर्माले भने, ‘गठबन्धनको सरकारमा एमाले पनि सहभागी हुन चाहेको हो । एमालेले नै सरकारमा सहभागी हुन चाहेकोमा हामीले रोक्ने कुरा भएन, हामी त सकेसम्म सबैको सहमतिको सरकार नै बनाउन चाहान्छौँ ।’

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि आफूहरुले कोशीको गणितीय अवस्थालाई मध्यनजर गरेर वर्तमान गठबन्धन कायम राख्दै एमालेसँग सहकार्य गर्ने विषयमा छलफल गर्न प्रस्ताव गरेको स्मरण गराएका छन् । आइतबार सामाजिक सन्जालमा कोशी घटनाबारे टिप्पणी गर्दै महामन्त्री शर्माले लेखेका छन्- ‘गणितीय जटिलता, अनि पहिचानको आन्दोलन सम्बोधन गर्नुपर्ने आवश्यकता दृष्टिगत गरेर दुवै महामन्त्रीको प्रस्ताव थियो- `कोशीमा एमाले सहितको समाधान खोजौं, तर मौजुदा गठबन्धन कायमै राखेर । यो गठबन्धन छोडेर अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गरौं l सँधै यो बोकिरहनुपर्छ, जरुरी छैन l तर संस्थागत निर्णय नगरी हामी कसैलेपनि आवेगमा कुनै निर्णय लिनुहुन्न ।’

मुख्यमन्त्री कार्कीले पहिलो चरणमा मन्त्रिपरिषद् विस्तार गर्दा आफूलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदमध्येबाट मात्रै बनाएका छन् ।

गठबन्धनको अर्को घटक माओवादी केन्द्रले भने मुख्यमन्त्रीको बोली र काम नमिलेको आरोप लगाएको छ । माओवादी केन्द्रको प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले मुख्यमन्त्रीको कुरा र काम फरक फरक भएको टिप्पणी गरे । उनले अहिलेकै अवस्थामा प्रदेशस्तरीय सहमतिको सरकारको सम्भावनासमेत नरहेको दाबी गरे । ‘केन्द्रमा एउटा सहमति गरेको छ, फेरि यता आएर अर्को काम गरेको छ, उहाँको आफ्नै कुरा नै प्रष्ट छैन,’ उनले भने, ‘उहाँ गठबन्धनको मुख्यमन्त्री हो कि एमालेको हो ? त्यो पहिले प्रष्ट हुनुपर्छ । त्यो प्रष्ट भएपछि हामीले पोजिसन बनाउने हो ।’ उनले एमालेको सरकारमा आफूहरू मिसिन नजाने बताए ।

यता एमालेले भने कोशी प्रदेशमा सहमतिको सरकारको सम्भावना नरहेको स्पष्ट पारेको छ । प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेशस्तरीय सहमतिको सरकारको सम्भावना नरहेको बताए । ‘प्रदेशस्तरीय सहमतिको सरकार बनाउन हामीले पनि पटक पटक प्रयास गरेकै हो । त्यो विगतमा पनि भएन, अहिले पनि सम्भव छैन,’ उनले भने, ‘यो कांग्रेस र एमालेको सहमतिको सरकार हो । त्योभन्दा दायाँबायाँ हामीलाई स्वीकार्य हुन्न ।’

Exit mobile version