अन्य

कारागारमा बम्जन : यस्तो छ दैनिकी

महोत्तरी — क्षमताभन्दा दुई गुणा बढी कैदी बन्दी राखिएको जलेश्वर कारागारका ५ सय ९३ जना कैदीबन्दीमध्ये एक हुन्, रामबहादुर बम्जन । सर्लाही जिल्ला अदालतको आदेशपछि जलेश्वर कारागार पुगेका बम्जनले सुरुआती दिनमा छुट्टै सुत्ने खाट र कोठा माग गरे पनि कारागारले उनलाई सामूहिक रुपमै अन्य कैदी बन्दीसँगै राखेको छ ।

कारागार प्रमुख रामचन्द्र साहले कारागारभित्र क्षमताभन्दा बढी कैदी बन्दीलाई नै राख्न समस्या भइरहेकाले बम्जनको माग पूरा गर्न नसकिएको बताए । ‘सुत्ने ठाउँ अभावका कारण त्रिपाल टाँगेर कैदी तथा थुनुवाहरु बसिरहेका छन्,’ प्रमुख साहले भने, ‘हामीले अन्य कैदी बन्दीसरह नै उहाँलाई पनि राखेका छौँ ।’

२७ गते बिहान बम्जनले कारागारको संयुक्त भान्साको खाना नखाने भन्दै लसुन, प्याजसमेत नराखेको शुद्ध साकाहारी खाना माग गरेका थिए । कारागार प्रमुख साहले उनलाई २ दिनसम्म कारागारमा रहेका कैदी बन्दी साधुसन्तहरुसँगै खाना खुवाएको बताए ।

कारागार प्रशासनका अनुसार दुई दिनसम्म बम्जन मन्दिर परिसरमा बिहानको समय ध्यानमा बसेका थिए । बम्जनको अनुरोधपछि प्रशासनले आइतबारबाट सेवा सत्कारको लागि भन्दै एकजना सहयोगी नियुक्त गरेको छ । लागूऔषध मुद्दामा जेल चलान भएका नरवीर लामा अहिले बम्जनका सहयोगी छन् । बम्जनको लागि खाना पकाउने, अन्य काममा सघाउने, अह्राएको काम गर्ने गरी लामालाई बम्जनको सहयोगीको रुपमा नियुक्त गरेको कारागार प्रशासनले जनाएको छ ।

बम्जन अहिले तीनतले कारागार भवनको तेस्रो तलामा ७ जना नाइकेसँगै बस्छन् । कारागारका सूचना अधिकारी रवीनचन्द्र ठाकुरले बस्ने राम्रो व्यवस्था गरिदिन प्रशासनसँग अनुरोध गरेपछि कारागारमा भएकामध्ये राम्रो कोठामा ७ जना नाइकेहरुसँगै उनलाई राखिएको बताए । ‘उनी कारागारमा धेरै बोल्दैनन्,’ ठाकुरले भने, ‘अहिले अन्य बाहिरी मानिसहरुसँग भेट गर्न समेत मानिरहेका छैनन् ।’

सुरुका केही दिन अनुयायी बताउनेहरु कारागारमा बम्जनलाई भेट्न निकै आउने गरेका थिए । अहिले त्यति आउँदैनन् । सोमबार बम्जनले श्रीमतीसँगै कारागारमा भेट्न पुगेका मानव अधिकारकर्मी र आफ्नो वकिलसँग भेट गरेका छन् ।

कारागारभित्रको मन्दिर परिसरमा प्रत्येक दिन कैदी बन्दी साधुसन्तले भजनकीर्तन गर्ने गरेका छन् । यस्तो कीर्तनमा सहभागी हुन साधुसन्तले बम्जनलाई अनुरोध गर्ने गरे पनि उनी सहभागी भएका छैनन् । कारागारमा ४ सयभन्दा बढी पुस्तकहरु रहेको पुस्तकालय पनि छ । तर बम्जन पुस्तकालयका पुस्तकहरु पढ्दैनन् । ‘बम्जन बस्ने कोठामा टीभी राखिएको छ,’ सूचना अधिकारी ठाकुरले भने, ‘उहाँ कोहीसँग खासै बोल्नुहुन्न टीभी हेरेरै दिन बिताउनुहुन्छ ।’