राजनीति

कांग्रेस नेताहरुले भने – ‘संविधान कार्यान्वयनमा चुक्यौँ’

काठमाडौँ — नेपाली कांग्रेसका नेताहरुले संविधान निर्माणको क्रममा माओवादी र अन्य दलहरुलाई प्रभावित पारेर नेतृत्व गर्न सफल भए पनि कार्यान्वयनमा भने चुकेको स्वीकारोक्ति दिएका छन् । संविधान कार्यान्वयनमा पार्टी नेतृत्वले ध्यान पुर्‍याउन नसकेको उनीहरुको ठहर छ । सानेपामा रहेको कांग्रेस मुख्यालयमा बीपी साहित्य महोत्सवअन्तर्गत बुधबार भएको ‘बीपीको विचार, आजको संविधान र अबको बाटो’ विषयक छलफल सेसनमा कांग्रेस नेता एवम् संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौला, पूर्वसभामुख दमननाथ ढुंगाना र संविधानसभा सदस्य नीलाम्बर आचार्यले बीपीले देखाएको बाटोअनुरुपकै व्यवस्थाहरु सहितको संविधान कांग्रेसकै नेतृत्वमा निर्माण भए पनि कार्यान्वयन प्रभावकारी हुन नसकेको बताए ।

संविधान मस्यौदा समितिका सभापति रहेका नेता सिटौलाले वर्तमान संविधानलाई माओवादी आन्दोलनको उपलब्धिका रुपमा मात्रै लिनु गलत हुने बताए । संविधानमा कांग्रेसले माओवादी र अन्य दलहरुलाई प्रभावमा राखेर पार्टीको नीतिअनुरुपका एजेन्डा स्थापित गरेको दाबीसमेत उनले गरे ।

बीपी कोइरालाले भनेबमोजिम किसान, मजदुर र आमनागरिकको भावना र अधिकारको व्यवस्था कांग्रेसले संविधानमा गराउन सफल भएको उनले बताए । बरु संविधानको कार्यान्वयनमा भने पार्टीले कमजोरी गरेको उनको ठहर छ ।

‘संविधान बनेपछि यसको कार्यान्वयनमा हामीले जोड दिन सकेनौं । संविधान जारी भएपछि कार्यान्वयन गर्ने बेलामा २०७२ सालपछि कम्युनिष्टहरुको सरकार बन्यो, केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले संविधान कार्यान्वयन गर्नभन्दा राज्यसत्ता कब्जा गर्ने नियत राखेको देखियो,’ सिटौलाले भने ।

संविधान कार्यान्वयनका लागि संघीय संसद र प्रदेशसभाका सांसदहरुको क्रियाशीलताको खाँचो रहेको भन्दै संविधान जारी भएपछिका ८ वर्षको मूल्यांकन गर्दा राज्य संचालकहरुको प्राथमिकता संविधान कार्यान्वयन नभएको देखिएको उनले बताए ।

‘नेपाली कांग्रेससँग अहिले पनि सदन र सडकमा संविधान कार्यान्वयन गर्न सक्ने तागत छ। यसलाई दृढताका साथ कार्यान्वयन गर्न कांग्रेसका सांसदहरु लाग्नुस्, संविधान बनेपछि कानून बनाउन ढिलाइ गर्नु भनेको न्याय दिन ढिलाइ गर्नु न्याय नदिनु जस्तै हो‚’ उनले भने, ‘संविधानमा आधारभूत विशेषताहरु बहुदलीय प्रजातन्त्रकै छ।’

पूर्वसभामुख दमननाथ ढुंगानाले भने वर्तमान संविधानमा कतिपय खोटहरु भएकै कारण कार्यान्वयनमा समस्या भइरहेको औँल्याए । संविधानमा अत्यधिकरुपमा मौलिक हकको व्यवस्था गरिएको तर त्यसको कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो । संविधान ‘माओवादी डोमिनेटेड’ भएको उनको तर्क थियो ।

त्यस्तै, संविधानसभा सदस्य एवम् पूर्वकानूनमन्त्री नीलाम्बर आचार्यले संविधान जारी भएको तीन वर्ष भित्रमा बन्नुपर्ने कानूनहरु निर्माण नहुनु दु:खद भएको बताए । ‘बीपीले भने जस्तै प्रजातन्त्र बलियो बनाउन आर्थिक समुन्नति चाहिन्छ । तर अहिले युवा पलायन वर्तमान राजनीतिक नेतृत्वप्रतिको आक्रोशको संकेत हो । जनताको मागलाई सम्बोधन गर्न विमुख भएर दलहरु सत्ता केन्द्रीत हुँदा समस्या आएको छ,’ उनले भनेका थिए ।

प्रमुख सचेतक रमेश लेखकले सहजीकरण गरेको सेसनमा महामन्त्री गगनकुमार थापाले प्रश्न गरेका थिए । संविधानसभामा आफूहरु चुप लागेर नबसेको भन्दै महामन्त्री थापाले यो संविधान ‘माओवादी डोमिनेटेड’ नभएको समेत जिकिर गरेका थिए ।

Related posts
राजनीति

कांग्रेसका मन्त्रीहरुलाई फिर्ता बोलाऔँ, समाजवादी मोर्चाको काम हेरौँ : महामन्त्री थापा

काठमाडौँ — कांग्रेसका महामन्त्री गगन…
Read more
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठकका लागि कोइराला समूहका तीन रणनीति

काठमाडौँ — नेपाली कांग्रेसका नेता…
Read more
राजनीति

कांग्रेसको १५ विभागमा प्रमुख मनोनयन, कुन विभागमा को ?

काठमाडौँ — नेपाली कांग्रेसको १५…
Read more