Site icon Nepal Janani Media

एमाले संस्थागत रूपमै शान्ति प्रक्रियाको खिलाफमा छ भन्ने लाग्दैन : पुन

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रमुख प्रतिपक्षी एमाले संस्थागत रूपमा नै शान्ति प्रक्रियाको विरुद्धमा नरहेको बताएका छन् । शान्ति प्रक्रियाबारे एमाले अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्तिको आफूहरूले राजनीतिक प्रतिवाद गर्ने पनि उनले बताए ।संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहीबार सांसद पुनले एमाले संस्थागत रूपमा नै शान्ति प्रक्रियाका सबै प्रक्रियामा सहभागी हुँदै आएको बताए । एमालेसँगै अरु राजनीतिक दलहरू पनि सहकार्य गरेर नेपालमा शान्ति प्रक्रिया अगाडि बढेको उनको भनाइ थियो ।

एमाले र हामी मिलेर नेकपा बनायौं, पार्टी एकतापछि सँगै चुनावमा गयौं । सरकारमा सहकार्य गरेका छौं । संविधानको प्रस्तावनामै जनआन्दोलन, सशस्त्र संघर्षलगायत विभिन्न आन्दोलनको बलमा अहिलेको व्यवस्था स्थापना भएको कुरा लेखिएको छ । नेकपाको राजनीतिक प्रतिवेदनमा जनयुद्ध र त्यसको योगदानबारे धेरै ठाउँमा उल्लेख गरिएको छ,’ उनले भने, ‘हिजो हामीले मिलेरै सेना समायोजन गरेका हौं । मिलेरै संविधान बनायौं । शान्ति प्रक्रियाका बाँकी काम पनि मिलेरै टुंगोमा पुर्‍याउँछौं । एमाले संस्थागत र आधिकारिक रुपमै शान्ति प्रक्रियाको खिलाफमा छ भन्ने लाग्दैन ।’एमालेले शान्ति प्रक्रियाको विरुद्धमा जान नहुने पनि उनको भनाइ थियो ।

एमालेले शान्ति प्रक्रियालाई अस्वीकार गर्ने भए राजनीतिक परिवर्तन पनि अस्वीकार गरेको अर्थ लाग्ने पुनको भनाइ थियो । शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्‍याउन सबै राजनीतिक दलहरूबीच सहकार्य हुनुको विकल्प नरहेको पनि उनको भनाइ थियो । शान्ति प्रक्रियाको सुरुदेखि नै एमालेले स्वामित्व लिएको र बाँकी काममा पनि उसको स्वामित्व रहने उनले बताए ।

पुनले शान्ति प्रक्रिया टुंग्याउने क्रममा दुवै पक्षबाट पीडित भएकाहरूले बिना भेदभाव न्याय पाउनुपर्नेमा आफूहरू सचेत रहेको पनि बताए ।

Exit mobile version