Site icon Nepal Janani Media

उत्पादन बढाएर आन्तरिक राजस्व बढाउने सरकारको नीति  ः अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बलियो बनाउने नीतिमा सरकार अघि बढेको बताएका छन्।

देशभरका ८४ वटा आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको व्यवस्थापन गोष्ठीमा बोल्दै उनले आयातमा आधारित राजस्व प्रणाली दिगो नहुने भएकाले सरकारले उत्पादन बढाउनेतिर केन्द्रित कार्यक्रम ल्याएको बताए। आन्तरिक उत्पादन बढाउन संरक्षण गर्ने सरकारको नीतिको किसानहरूले स्वागत गरेको उल्लेख गर्दै महतले यसबाट कोही पनि आतंकित नहुन आग्रह गरे।

‘आन्तरिक उत्पादन बढाउनुपर्छ भन्नेमा सबैको एकमत छ। यसका लागि सरकारले एक तहको संरक्षणको ग्यारेन्टी गरेको पनि छ, तर निजी क्षेत्रबाटै यसको विरोध किन भयो ? के सधैँ आयात मात्र गर्नुपर्छ भन्ने कुरा हो ?’ अर्थमन्त्री महतले प्रश्न गरे।

चालू आर्थिक वर्षका लागि लिइएको राजस्वको लक्ष्य पूरा हुने उनको विश्वास छ। गत वर्ष विविध कारणले लक्ष्य पूरा नभए पनि यो वर्ष अर्थतन्त्रमा सुधारका संकेत देखिएको र यसले गर्दा राजस्व संकलन बढ्ने उनको भनाइ छ।

‘कर तिर्नेको संख्या थोरै छ, कर तिर्नुपर्नेको संख्या धेरै छ। उनीहरूले कर तिर्न पनि सक्छन्‌। उनीहरूलाई करको दायरामा ल्याउनुपर्छ,’ उनले भने।

Exit mobile version