समाचार

६१ किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन तयार, बुधबार सरकारी वकिललाई बुझाइने

काठमाडौँ — लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन भोलि बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ । सरकारी वकिलमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य आज साँझ सकिएकाले भोलि बुझाउने तय भएको सीआईबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिए । आरोपीविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने सीआईबीको तयारी छ । संगठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ । यही ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्‍याइसक्नुपर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी भोलि प्रतिवेदन बुझाउने मिति तय गरिएको हो ।

उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा स्वास्थ्यका कारण एक जना हिरासत बाहिर रहे पनि ३० जना प्रहरी नियन्त्रणमा छन् । पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् । उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन् ।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिएको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम फेला परेको थियो ।

Related posts
समाचार

इजरायलको जोखिम क्षेत्रबाट थप ७२ जना नेपाली विद्यार्थीको उद्धार

काठमाडौँ — इजरायलको जोखिम क्षेत्रमा…
Read more
समाचार

महिलाका मुद्दा अब पारिवारिक इजलासमा

पेसी नसार्न र नियमित सुनुवाइ गर्न…
Read more
समाचार

इजरायलमा रहेका नेपाली विद्यार्थीको अनुरोध - ‘सरकारले हाम्रो उद्धार गरोस्’

काठमाडौँ — हामी आएको एक महिना भयो ।…
Read more