अन्यसमाचार

कोइरालाले किन खोजे दाहालको विकल्प ?

ठूलो दलको हैसियतले कांग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्ने अभिव्यक्तिप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा सशंकित

काठमाडौँ — कांग्रेसको संस्थापनइतरका नेता शेखर कोइरालाले केही राजनीतिक मुद्दाहरूको उठान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालको विकल्प खोज्नुपर्ने बताउन थालेका छन् । ठूलो दलको हैसियतले कांग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्ने कोइरालाको अभिव्यक्तिले प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैलाई सशंकित बनाएको छ । सत्ता गठबन्धनका मुख्य नेताहरूको स्वार्थका कारण भ्रष्टाचार काण्डको अनुसन्धानले गति लिन नसक्दा आम जनतामा निराशा बढाएको, कोशी प्रदेशमा दुई–दुई पटक सरकार गठनमा असंवैधानिक कदमलाई साथ दिएको, प्रधानमन्त्रीले जातीय मुद्दा उठाएर समाजलाई द्वन्द्वतिर धकेल्न खोजेको लगायत आरोप लगाउँदै कोइरालाले सरकारको नेतृत्व बदल्नुपर्ने सार्वजनिक धारणा व्यक्त गरेका हुन् ।

संसद्मा हामी ८८ सांसद छौं, नौ जना मन्त्री नै छौं तर तपाईंहरूलाई लागिरहेको होला, हाम्रा मन्त्रीहरूले काम गरिरहनुभएको छ भनेर । मन्त्रीजीहरूले केही गर्नै सक्नुभएको छैन । संसदीय प्रणालीमा प्रधानमन्त्रीबाहेक अरू मन्त्रीहरूको कुनै रोल हुन्न, यो बुझ्न जरुरी छ । प्रधानमन्त्री र मुख्यमन्त्री बसेर निर्णय गरेपछि त्यही निर्णय सदर हुन्छ,’ गत शनिबार चितवन कांग्रेसको जिल्ला सम्मेलनमा पहिलोपल्ट दाहाल सरकारको विकल्प खोज्नुपर्ने बताउँदै कोइरालाले भनेका थिए, ‘त्यसकारण अब कांग्रेसको नेतृत्वमा सरकार बन्नु जरुरी छ । अनि मात्रै हामी अगाडि बढ्न सक्छौं ।’ चितवनपछिका सार्वजनिक मञ्चहरूमा पनि कोइरालाले यही धारणा दोहोर्‍याउँदै आएका छन् ।

पछिल्लो समय देउवासँग उनको दूरी बढ्दै गइरहेको छ । तर पार्टी र संसदीय दलमा देउवाको बलियो घेरा तोडेर आफैं आउने सम्भावना देखिँदैन । आफ्नो प्रतिकूल अवस्थाका बाबजुद पनि कोइरालाले गठबन्धनभित्रै संशय पैदा गराउने गरी सरकारको नेतृत्व बदल्ने कुरा किन गरिरहेका छन् त ? केन्द्रीय सदस्य प्रदीप पौडेल गठबन्धनको नेतृत्व बदल्दा सभापति देउवालाई मन्त्रीका आकांक्षीहरूलाई व्यवस्थापन गर्न गाह्रो हुने र त्यसले आफूलाई सहज हुने ठानेर कोइरालाले नेतृत्व बदल्ने कुरा गरेको हुन सक्ने अनुमान गर्छन् । तर, सभापतिले नचाहेसम्म तत्काल गठबन्धन परिवर्तन हुने वा यही गठबन्धनमा नेतृत्व बदल्ने सम्भावना नभएको उनको बुझाइ छ ।

ठूलो दलको हैसियतले देउवालाई प्रधानमन्त्रीका लागि अघि सर्नु भनेर कोइरालाले नै प्रस्ताव राख्दा त्यसको दुइटा सन्देश जान सक्ने उनको अनुमान छ । ‘जति प्रयास गर्दा पनि देउवा प्रधानमन्त्री बन्न तयार हुनु भएन भने आफू अघि बढ्न सहज हुन्छ भन्ने सोचिएको हुन सक्छ,’ पौडेल भन्छन्, ‘अर्कोतर्फ, प्रधानमन्त्री बन्न तयार हुनुभयो भने पनि मन्त्री हुन लामबद्ध भएका धेरै सांसद असन्तुष्ट बन्छन् । शेरबहादुरसँगको भ्रम पनि तोडिन्छ । त्यसको लाभ आफूलाई मिल्छ भन्ने मनोविज्ञान हुन सक्छ ।’

केन्द्रीय सदस्य गोविन्द पोखरेल भने सरकारका कामकारबाहीले जातीय द्वन्द्व निम्त्याउने र राजनीतिक दलप्रति अझै निराशा सिर्जना गरेकाले विकल्पको विषय गम्भीरतासाथ उठाइरहेको बताउँछन् । उनका अनुसार प्रधानमन्त्री दाहालको विकल्पमा देउवा नभएर स्वयं कोइराला नै प्रधानमन्त्री बन्ने सभावना छ । ‘माओवादीसँगको गठबन्धनमा होस् वा एमालेसँगको, सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्छ, यही सरकारको निरन्तरता रह्यो भने भ्रष्टाचार, सामाजिक सद्भाव र जनजीविकाका सबालमा अझै धेरै ठूलो निराशा देखिनेछ भनेरै शेखर दाइले सरकार परिवर्तनको कुरा उठाउनुभएको हो,’ पोखरेलले थपे, ‘भ्रष्टाचारकै मुद्दामा प्रधानमन्त्रीले माओवादीका नेताहरू जोगाउने र कांग्रेसका समात्ने जुन दोहोरो मापदण्ड देखाइरहनु भएको छ, त्यसले निराशा बढाइरहेको छ ।’

देउवाको विकल्पमा तत्कालै जानका लागि संसदीय दलको अंकगणित कोइरालाको पक्षमा छैन । केही समयअघिसम्म कोइरालामाथि पार्टी र सत्ताको भागबन्डामा देउवासँग मिलेर रूपान्तरणका मुद्दा छाडेको आरोप आफ्नै समूहबाट लाग्दै आएको थियो । त्यो आरोपलाई गलत सावित गर्न पनि साउन १० को केन्द्रीय कार्यसमिति बैठकपछि कोइरालाले देउवासँग दूरी बढाउँदै लगेको र संसदीय दलमा विकल्पसमेत खोज्न थालेको बुझाइ कांग्रेस नेताहरूको छ । ‘आजभोलि संसदीय दलको नेता बदल्न तयार छु भन्दै आउनु भएकाले भित्रभित्र केही पाकिरहेको हो कि ?’ पौडेल भन्छन्, ‘सोझो रेखाबाट हेर्दा पार्टी सभापतिले नचाहेसम्म सरकार बदलिने सम्भावना कम छ ।’

राज्य व्यवस्था समितिका सभापतिसमेत रहेका केन्द्रीय सदस्य रामहरि खतिवडा प्रधानमन्त्रीको चीन भ्रमणपछि मात्रै सत्ता समीकरणको मार्गचित्र के हुने भन्ने स्पष्ट हुने बताउँछन् । ‘सरकार गठनको एक वर्ष पुग्न लाग्दा आम जनताले राहत नपाएको, भ्रष्टाचार काण्डमा माओवादी नेतालाई बचाउने र कांग्रेसलाई खोजीखोजी समस्यामा पार्ने गरेको, सरकारले डेलिभरीका काम गर्न नसकेको र विवादास्पद व्यक्तिलाई नियुक्ति दिएर निराशा बढाउने काम गरेको लगायत चर्चाहरू कांग्रेसभित्र चलेका छन् तर अहिल्यै गठबन्धन परिवर्तन गर्ने तहको छलफल भएको छैन,’ खतिवडाले भने, ‘त्यस्तो केही रहेछ भने चीन भ्रमणपछि मात्रै थाहा होला ।’

सत्ता समीकरण परिवर्तन गर्ने विषयलाई लिएर एमालेसँग पनि कुनै कुराकानी नभएको उनले बताए । केन्द्रीय सदस्य पोखरेल पार्टीभित्रै व्यापक दबाब परेपछि सरकार बदल्ने अवस्थामा नेतृत्व आउने विश्वास गर्छन् । कांग्रेसका एक नेताका अनुसार कोइराला एमालेसँग समीकरण बनाएर भए पनि सरकारको नेतृत्व लिनुपर्ने पक्षमा छन् । केपी ओलीसँग विभिन्न माध्यमबाट संवादसमेत भइरहेको उनको दाबी छ ।

विदेश मामिलाका जानकारसमेत रहेका कांग्रेसका अर्का एक नेता भने कोइरालाको अभिव्यक्तिलाई छिमेकी भारतको लाइनसँग जोडेर हेर्ने गरिएका कारण पनि दाहाल र देउवा संशकित भएको बताउँछन् । ‘कोइरालाको अभिव्यक्तिलाई कतिपय नेताहरूले राजनीतिमा प्रभाव जमाउँदै आएको भारतको लाइनसँग जोडेर हेर्ने गरेका छन् । दाहाल र देउवा सशंकित हुनुको कारण पनि यही हो,’ ती नेताले भने ।

अर्कोतर्फ गठबन्धन भत्किने अवस्थामा एमाले अध्यक्ष ओली कांग्रेसबाट देउवा वा कोइरालामध्ये जसलाई पनि प्रधानमन्त्री स्वीकार्न तयार हुने बुझाइ कांग्रेस नेताहरूमा छ । तर, संसदीय दल र केन्द्रीय कार्यसमिति दुवैमा बलियो बहुमतमा रहेका देउवा पूर्वसहमतिबाट पछि हटेर अहिल्यै प्रधानमन्त्रीका लागि अघि बढ्ने सम्भावना न्यून छ । गठबन्धनमा देउवा, दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालबीच आलोपालो प्रधानमन्त्रीको समझदारी छ । सत्ता राजनीति यही कोर्समा अघि बढ्दा देउवा ०८३ साउनतिर मात्र प्रधानमन्त्री बन्नेछन् ।

पार्टीमा देउवाको नेतृत्व यो नै अन्तिम हो । चार वर्षमा नियमित महाधिवेशन भए देउवा ०८२ सालबाटै सभापतिबाट बाहिरिने छन् तर निर्धारित समयमा महाधिवेशन नभएको थुप्रै उदाहरण छन् । ‘पाँच वर्षमा महाधिवेशन गराउने र प्रधानमन्त्री पनि हुने अवस्था आफ्ना लागि प्रतिकूल हुने ठानेरै शेखरले देउवालाई अहिल्यै प्रधानमन्त्री बनाइदिन पाए महाधिवेशन र निर्वाचनको मुखमा देउवाबाट मुक्ति पाइन्थ्यो भन्ने सोच्नुभएको हुन सक्छ,’ संस्थापनइतरका अर्का एक नेताले भने ।

उनका अनुसार कोइरालाले मात्रै होइन, जीवनभर नै शक्तिमा रहने स्वार्थ हेरेरै देउवाले पनि राजनीतिक गोटी चालिरहेका छन् । कोइरालाको अभिव्यक्तिले सशंकित बनाए पनि तत्काल दाहाल सरकारको विकल्प खोज्न देउवा तयार नहुने उनको बुझाइ छ । देउवाले पार्टी महाधिवेशनको मुखमा प्रधानमन्त्री बनेर श्रीमती आरजुलाई पार्टीमा स्थापित गराउने र त्यतिबेलासम्म प्रधानमन्त्री दाहाललाई विश्वासमा राख्ने देउवाको योजना रहेको ती नेताको बुझाइ छ ।

‘त्यसैले होला, आजभोलि बालुवाटारमा प्रधानमन्त्री दाहाल, छोरी गंगा, देउवा र श्रीमती आरजुबीच बारम्बार डिनर छलफल हुन्छ,’ ती नेताले भने, ‘१५ औं महाधिवेशनबाट आरजुलाई उत्तराधिकारीका रूपमा अघि बढाउने स्वार्थका कारण पनि देउवा तत्काल एमालेसँग जान्छन् भन्ने लाग्दैन ।’