समाचार

अलपत्र बन्यो रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान

चुनावका बेला प्रतिष्ठान निर्माणको जस लिन राजनीतिक हानथाप भए पनि अहिलेसम्म काम नै सुरु भएन

राजविराज — प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनावी मुद्दा बनेको राजविराजस्थित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान यतिबेला अलपत्र अवस्थामा छ । २०७५ पुस १६ मा मन्त्रिपरिषद्ले प्रतिष्ठान गठन गर्ने निर्णय गरेको थियो ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल हाताभित्र प्रतिष्ठानको कार्यालय त छ तर महिनौंदेखि अध्यक्ष र कार्यकारी निर्देशकविहीन अवस्थामा छ । प्रतिष्ठानमा करारमा कार्यरत कम्प्युटर अपरेटर नीतुकुमारी दास र एक कार्यालय सहयोगी गौरीशंकर यादव झन्डै ९ महिनायता कार्यालय रुँगेर बसिरहेका छन् ।

२०७८ जेठ २१ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका–१० बिरौलास्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागि लिजमा दिने निर्णय गरेको थियो । ०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यही जग्गामा प्रतिष्ठानको भवन शिलान्याससमेत गरेका थिए । तर भवन त बनेन नै, जग्गासमेत खेलमैदान र गौचरमा परिणत भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकास समिति ऐन २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति गठन आदेश २०७५ राजपत्रमा प्रकाशित भएको थियो । २०७६ असार २ मा राजपत्रमा प्रकाशित गठन आदेशमा कार्य आदेश प्रारम्भ भई समितिको पहिलो बैठक बसेको मितिले २५ महिना वा प्रतिष्ठानलाई व्यवस्थापन गर्न बनेको ऐन प्रारम्भ भएको ४५ दिनमध्ये जुन पहिले हुन्छ त्यो दिन पूर्वाधार तयारी विकास समितिको समयावधि स्वतः सकिने र पदाधिकारीहरू स्वतः पदमुक्त हुने उल्लेख छ । यो व्यवस्थालगत्तै २०७६ असार १८ मा पूर्वाधार तयारी विकास समितिको कार्यालय गजेन्द्रनारायण अस्पतालमा स्थापना गरिएको थियो ।

प्रतिष्ठानको लेखासमेत हेर्दै आएका कोष तथा लेखा नियन्त्रण कार्यालय राजविराजमा कार्यरत लेखापाल उमेश यादवले यो व्यवस्थाअनुसार प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति गठन आदेशको समयावधि सकिएको बताए । कुल ११ अर्ब ९८ करोड लागतमा निर्माण हुने भनिएको प्रतिष्ठानको काम शिालन्यास भएको २ वर्षभन्दा बढी समय बितिसक्दा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को टेन्डरबाहेक अन्य काम हुन सकेको छैन । विकास समितिका अध्यक्ष डा. रोहित पोखरेलले प्रतिनिधिसभामा उम्मेदवार उठ्नका लागि २०७९ कात्तिक २३ मा राजीनामा दिएका थिए । अध्यक्ष नभएको अवस्थामा कार्यकारी निर्देशक बनेका गजेन्द्रनारायण अस्पताल राजविराजका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रन्जितकुमार झा पनि २०७९ पुस १७ मा दोलखाको जिरी अस्पतालमा सरुवा भएपछि पूर्वाधार तयारी विकास समिति कार्यकारी निर्देशकविहीन बन्यो ।

लेखापाल यादवले २०८० असार २० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्दै अध्यक्ष र कार्यकारी निर्देशक नहुँदा समितिमा कार्यरत करारका कर्मचारीलाई तलबभत्ता भुक्तानी हुन नसकेको, दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न समस्या भइरहेको तथा परामर्शदाताबाट सम्झौताबमोजिम पेस भएको डीपीआरको भुक्तानी हुन नसकेको अवगत गराएका थिए । उनले २०७९ फागुन ८ मा पनि मन्त्रालयलाई यही व्यहोराको पत्र लेखेका थिए । पूर्वाधार तयारी विकास समिति नै अलपत्र परेपछि कार्यालयमा लाखौं रुपैयाँ खर्च गरी खरिद गरिएका सामानहरू प्रयोगविहीन अवस्थामा छन् । प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिमा आर्थिक वर्ष ०७५/७६ देखि हालसम्म १६ करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । आव ०७५/७६ देखि ०७९/८० को पुस मसान्तसम्म ३ करोड १६ लाख ४७ हजार खर्च भएको छ भने चारै आर्थिक वर्ष गरी १२ करोड ९३ लाख ५२ हजार रुपैयाँ खर्च हुन नसकेर फिर्ता गएको छ ।

Related posts
समाचार

इजरायलको जोखिम क्षेत्रबाट थप ७२ जना नेपाली विद्यार्थीको उद्धार

काठमाडौँ — इजरायलको जोखिम क्षेत्रमा…
Read more
समाचार

महिलाका मुद्दा अब पारिवारिक इजलासमा

पेसी नसार्न र नियमित सुनुवाइ गर्न…
Read more
समाचार

इजरायलमा रहेका नेपाली विद्यार्थीको अनुरोध - ‘सरकारले हाम्रो उद्धार गरोस्’

काठमाडौँ — हामी आएको एक महिना भयो ।…
Read more